
विराटनगर, १५ श्रावण । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार पुष्पराज थपलिया सम्मानित हुनु भएको छ । प्रेस चौतारी नेपाल मोरङ शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको १५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार यस वर्ष थपलियालाई प्रदान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थपलिया खबर पूर्वाञ्चलका संस्थापक अध्यक्ष हुन् । उनले सहकारी, शिक्षा तथा स्थानीय विकासका विषयमा निरन्तर कलम चलाउँदै आउनु भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विदुरकुमार लिङ्थेप आयोजक प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा, पुरस्कारकी संस्थापक कमला मैनालीलगायतले थपलियालाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र सामाजिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने बताउनुभयो । बदलिँदो सूचना प्रवाह र चुनौतीपूर्ण परिस्थितिमा पत्रकारिताले अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसअघि जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट दीपेन न्यौपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सिना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र सुदीप कोइरालालगायतका पत्रकार सम्मानित भइसक्नु भएको छ ।