हाम्रो पेज
![]()
काठमाडौं, १० श्रावण । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीले विवरण सार्वजनिक गर्दै १० सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यो सडकमा लामो समयदेखि रातिको समयमा गाडी चलेका छैनन्। त्यसैगरी इलाममा मेची राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाघु रामेछाप सडक, रसुवामा त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक, मुस्ताङमा जोमसोम कोरला सडक, अर्घाखाँचीमा सन्धिखर्क गोरुसिंहे सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। त्यसैगरी बागलुङमा कालीगण्डकी करिडोर सडक, भोजपुरमा मध्यपहाडी लोकमार्ग, खोटाङमा पनि मध्यपहाडी लोकमार्ग बाढी पहिरोको कारण एकतर्फी रुपमा मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
काठमाडौंसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
वर्षासँगै देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । “उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ । दूधकोसी, सुनकोसी, नारायणी, कर्णाली, महाकाली, वाग्मतीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज केही प्रदेशमा भारी वर्षा हुन सक्ने
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोसी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थान कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । महाशाखाका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।