भोलि शनिबार रातिदेखि भारी वर्षा, कहाँको मौसम कस्तो रहनेछ ?

हाम्रो पेज

१ श्रावण २०८३, शुक्रबार १५:०९

विराटनगर, १ श्रावण । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार भोलि रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताउनुभयो । देशका पहाडी भू भागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभाग का पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने महर्जनको भनाइ छ ।
लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्था बुझ्न तथा अत्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न उहाँको सुझाव छ ।

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

वर्षासँगै देशका केही जिल्लामा आज साउन १ आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । विभिन्न सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । ओखलढुंगा, रामेछाप, रुकुम पूर्व, जाजरकोट, डोटी, डडेलधुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ । यी जिल्लाका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।