हाम्रो पेज
![]()
विराटनगर, ३१ असार । सन् २०१० को विश्वविजेता स्पेनले फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट आक्रामक र अनुशासित रक्षात्मक प्रदर्शन गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो। स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि फ्रान्सका लुकास डिग्नेले फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसलाई ओयार्जाबालले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। ५८औँ मिनेटमा डानी ओल्मोसँगको आकर्षक ‘वान–टु’ पासपछि पोरोले उत्कृष्ट फिनिस गर्दै स्पेनको अग्रता दोब्बर बनाए। यस जितमा डानी ओल्मो स्पेनका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक रहे। उनले ३० मध्ये २९ पास सफल बनाउँदै ९६ दशमलव ७ प्रतिशत पास सफलताको दर कायम गरे। उनले दुई उत्कृष्ट गोल अवसर सिर्जना गर्नुका साथै पोरोको गोलका लागि निर्णायक असिस्ट पनि उपलब्ध गराए।
स्पेनको रक्षापङ्क्तिले भने फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसेलाई पूर्ण रूपमा नियन्त्रणमा राख्यो। एमबाप्पेका तीनवटै प्रहार लक्ष्यमा लाग्न सकेनन् भने पहिलो हाफमा उनले केवल १५ पटक मात्र बल छोएका थिए। ६७औँ मिनेटमा उनको उत्कृष्ट अवसर पनि डिफेन्डर मार्क कुकुरेल्लामा लागेर बाहिरिएको थियो। १९औँ जन्मदिन मनाएको भोलिपल्ट मैदान उत्रिएका किशोर स्टार लामिन यामालले एक गोल गरे पनि भिडियो सहायक रेफ्री ९ख्ब्च्० ले अफसाइड ठहर गरेपछि गोलले मान्यता पाएन। यद्यपि, स्पेनले पाएको पेनाल्टी सिर्जना गर्न उनको भूमिका निर्णायक रह्यो।
यो जितसँगै स्पेनले प्रतियोगितामा खेलेका सातमध्ये छ खेलमा ‘क्लिन सिट’ राख्दै नयाँ कीर्तिमान बनाएको छ। समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले त्यसयता विपक्षीविरुद्ध १२ गोल गरेको छ भने केवल एक गोल मात्र व्यहोरेको छ। मार्च २०२४ यता नियमित समयमा लगातार ३७ खेल अपराजित रहने नयाँ राष्ट्रिय कीर्तिमान पनि स्पेनले कायम गरेको छ।
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गर्दै भने, “हामी विश्वकै उत्कृष्ट टोलीमध्ये एकसँग खेलिरहेका थियौं, तर आज उनीहरूले विश्वकै उत्कृष्ट टोलीसँग सामना गरेका थिए।” कप्तान रोड्रीले पनि उपाधि नै आफ्नो अन्तिम लक्ष्य रहेको स्पष्ट पारे। यता, फ्रान्सका प्रशिक्षक डिडिएर डेसाँले स्पेनको खेलशैलीको खुलेर प्रशंसा गरे। उनले स्पेनले सबै खाली स्थान बन्द गरिदिएको र आफ्ना खेलाडीबाट धेरै प्राविधिक गल्ती भएका कारण अवसर सिर्जना गर्न कठिन भएको स्वीकारे। कप्तान एमबाप्पेले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै अब टोलीले तेस्रो स्थानका लागि हुने खेलमा ध्यान केन्द्रित गर्ने बताए।
स्पेनले लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा फ्रान्सलाई हराउने कीर्तिमान पनि कायम गरेको छ। यसअघि स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पनि फ्रान्सलाई पराजित गरेको थियो। अब स्पेनले आइतबार हुने फाइनलमा अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फ्रान्स भने शनिबार हुने तेस्रो स्थानको खेलमा मैदान उत्रिनेछ।