हाम्रो पेज
विराटनगर, ८ अषाढ I मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको हो।
सिंगापुरले प्रस्तुत गरेको एकसय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३ दशमलव ३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर प्रसिद्ध जैसी नायक बने। उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अविजित अर्धशतक प्रहार गरे। ९१ बलको सामना गर्दै उनले ५५ रनको महत्त्वपूर्ण पारी खेले। नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ९ रनमा रिटायर्ड हर्ट भएपछि प्रसिद्धले तेस्रो नम्बरका ब्याट्सम्यान रौनक श्रीवास्तवसँग मिलेर जितको आधार तयार पारे। रौनकले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ४० रनको योगदान दिए। प्रसिद्ध र रौनकबीचको यही बलियो साझेदारीले नेपाललाई जिततर्फ डोहोर्याएको थियो।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर नेपाली बलरसामु निरीह देखिएको थियो। नेपाली कप्तान विपीनप्रसाद शर्माले घातक बलिङ गर्दै सिंगापुरको ब्याटिङ लाइनअप ध्वस्त पारे। उनले मात्र ३४ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।
सिंगापुरका लागि कप्तान रियान नाइकले ५३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले भने ओपनर आहान भुथान्दमले ३२ बलमा ३८ रन जोडेका थिए। एक समय ६५ रनमा २ विकेट मात्र गुमाएर बलियो स्थितिमा रहेको सिंगापुरले कप्तान शर्माको सानदार बलिङपछि थप ७३ रन जोड्दा आफ्ना बाँकी ८ विकेट गुमाउन पुग्यो र १३८ रनमा समेटियो। नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन दिएर २ विकेट लिए भने अभय यादव र शुभम खनालले एक-एक विकेट आफ्नो नाममा लेखाए। यो जितसँगै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण २ अंक जोडेको छ।