search logo
NOTIFICATIONS

प्रधानमन्त्रीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन, उद्धार र राहतमा तीव्रता दिन निर्देशन

हाम्रो पेज

२४ असार २०८२, मंगलवार १९:३१

रसुवा /काठमाडौं २४ अषाढ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्नुभएको छ। बाढीले पुर्‍याएको धनजनको क्षतिको प्रत्यक्ष जानकारी लिन र प्रभावित नागरिकहरूलाई ढाडस दिन प्रधानमन्त्री उच्चस्तरीय टोलीसहित बुधबार रसुवा पुग्नुभएको हो।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीज्यूले बाढीबाट भएको क्षति, जारी उद्धार तथा राहत वितरणको अवस्थाबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभयो। उहाँले बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, नेपाल–चीन सिमानामा रहेको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाहको अवस्था र बगाइएका मालबाहक कन्टेनरबाट भएको क्षतिप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले पीडितहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले सरकार प्रभावित नागरिकहरूको साथमा रहेको र विपद्को यो घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्नुभयो।
प्रधानमन्त्री नेतृत्वको उक्त उच्चस्तरीय टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, प्रधानसेनापति तथा अन्य तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ ।