केनको करामत, बेल्जियमको चमत्कारी पुनरागमन र अमेरिकाको ऐतिहासिक सफलता

हाम्रो पेज

१८ असार २०८३, बिहीबार १४:४०
इंग्ल्याण्ड, बेल्जियम र अमेरिका विश्वकपको अन्तिम १६ मा

विराटनगर, १८ असार । फिफा विश्वकप २०२६ को नकआउट चरण रोमाञ्चक मोडमा प्रवेश गरिरहँदा इंग्ल्याण्ड, बेल्जियम र सहआयोजक अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन्। बुधबार र बिहीबार बिहान सम्पन्न ‘राउन्ड अफ ३२’ का खेलहरूमा यी तीन टोलीले फरक–फरक शैलीमा जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्याण्डलाई प्रजातान्त्रिक गणतन्त्र कंगो ९डीआर कंगो० विरुद्ध २–१ को कठिन पुनरागमन जित दिलाए। खेलको सातौं मिनेटमै ब्रायन सिपेन्गाको गोलबाट पछि परेको इंग्ल्याण्ड लामो समय दबाबमा देखिएको थियो। तर खेल सकिन १५ मिनेट बाँकी रहँदा एन्थोनी गोर्डनको क्रसमा हेडमार्फत बराबरी गोल गरेका केनले ८६औँ मिनेटमा निर्णायक गोल थप्दै टोलीलाई अन्तिम १६ पुर्‍याए।

केनको विश्वकप करिअरको गोल संख्या १३ पुगेको छ। जारी विश्वकपमा उनले पाँच गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा बलियो दाबेदारका रूपमा उभिएका छन्। इंग्ल्याण्ड अब अन्तिम १६ मा सहआयोजक मेक्सिकोसँग भिड्नेछ। यता अमेरिकाको सिएटल स्टेडियममा अर्को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकाल्यो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा दुई गोलले पछि परेको बेल्जियमले रोमेलु लुकाकु र युरी टिलेमान्सको गोलमार्फत खेललाई बराबरीमा ल्याएको थियो। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई टिलेमान्सले सदुपयोग गर्दै बेल्जियमलाई अन्तिम १६ पुर्‍याए।

२४औँ मिनेटमा हबीब डियाराले र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई बलियो अवस्थामा पुर्‍याएका थिए। तर अन्तिम क्षणमा एकाग्रता गुमाउँदा अफ्रिकी टोलीको ऐतिहासिक यात्रा ‘राउन्ड अफ ३२’ मै समाप्त भयो। बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा सहआयोजक अमेरिका १० खेलाडीमा सीमित रहँदा पनि बोस्निया एन्ड हर्जगोभिनामाथि २–० को जित निकाल्न सफल भयो। फोलारिन बालोगुनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर ६४औँ मिनेटमा रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो।

संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकी टोलीले ८२औँ मिनेटमा मलिक टिलम्यानको आकर्षक फ्रिकिक गोलमार्फत जित सुनिश्चित गर्‍यो। बालोगुनको रातो कार्ड भने खेलपछि विवादको विषय बन्यो। धेरै फुटबल विश्लेषक र प्रशिक्षक मौरिसियो पोचेटिनोले उक्त निर्णयलाई कठोर भन्दै आलोचना गरेका छन्। अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकाल्दै नयाँ इतिहास रचेको छ। यससँगै सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा तीनै टोली अन्तिम १६ मा पुग्न सफल भएका छन्।

यता गोल्डेन बुटको प्रतिस्पर्धा पनि झन् रोमाञ्चक बन्दै गएको छ। अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान ६ गोलसहित अग्रस्थानमा छन् भने इंग्ल्याण्डका ह्यारी केन र नर्वेका एर्लिङ हालान्डले पाँच–पाँच गोल गर्दै पछ्याइरहेका छन्। ब्राजिलका भिनिसियस जुनियर र फ्रान्सका उसमान डेम्बेले चार–चार गोलसहित दौडमा कायम छन्। विश्वकप अन्तिम १६ को समीकरण पूरा हुँदै जाँदा उपाधि दाबेदार टोलीहरूबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ। इंग्ल्याण्डलाई केनको उत्कृष्ट लयले उत्साहित बनाएको छ भने बेल्जियमले पुनरागमन क्षमता प्रदर्शन गरेको छ। अमेरिका पनि घरेलु समर्थकको साथमा इतिहास दोहोर्‍याउने लक्ष्यसहित अघि बढिरहेको छ। अब अन्तिम १६ का खेलहरूले विश्वकपको उपाधि यात्राको वास्तविक चित्र स्पष्ट पार्नेछन्।