हाम्रो पेज

विराटनगर, ८ असार । पानी पार्ने मनसुन प्रणाली देशमा फैलने क्रममा छ । सोमबार ९असार ८० कोसी, मधेस, वाग्मती, गण्डकी हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “यस वर्षको मनसुन प्रणाली मिति २०८३ असार ८ अर्थात २२ जुन गतेका दिन कोसी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा प्रवेश गरेको छ,” महाशाखाले भनेको छ । यो वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी यही असार ५ गते नेपाल भित्रिएको थियो । “मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ,” महाशाखाले भनेको छ ।
मनसुनी प्रणालीलाई आफूहरूले निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ । सामान्यतया अंग्रेजी क्यालेन्डरको जुनदेखि सेप्टेम्बरसम्मका चार महिनाको समयलाई मनसुन अवधि मानिन्छ । गत वर्ष औसत मितिभन्दा १५ दिनअगावै अर्थात् मे २९ मा नेपालमा मनसुन भित्रिएको थियो । यसपालि मनसुनमा सरदरभन्दा कम वर्षा हुने आकलन छ । नेपालमा मनसुन अवधिको औसत वर्षा १,३८२ मिलिमिटर हो । देशमा वर्षभरि पर्ने पानीको ८० प्रतिशत वर्षा मनसुनमा हुने गरेको महाशाखाले जनाएको छ ।