हाम्रो पेज

विराटनगर, ९ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने ताप्लेजुङमा पहिरो र बाढीले घर तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा ठूलो पहिरो खस्दा छोङराङ आसपासको सडक सोमबार साँझदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सडक बन्द भएसँगै जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सदरमुकाम खाँदबारीबीचको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार लगातारको वर्षापछि माथिल्लो भेगबाट ठूलो परिमाणमा पहिरो झरेको हो। पहिरो हटाउन उत्तर–दक्षिण कोशी सडक आयोजना, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको भए पनि निरन्तर वर्षा र थप पहिरो खस्ने जोखिमका कारण सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो। सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारीतर्फ आउँदै गरेका तथा खाँदबारीबाट उत्तरी क्षेत्रमा जाँदै गरेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापारिक गतिविधि र अत्यावश्यक सेवासमेत प्रभावित बनेका छन्।उता ताप्लेजुङमा पनि वर्षासँगै आएको पहिरो र बाढीले फक्ताङलुङ गाउँपालिकाका तीन घरमा क्षति पुर्याएको छ। फक्ताङलुङ–१ साँवादिनको तेम्रङ क्षेत्रमा घरमाथिबाट खसेको पहिरोले गणेश कटवाल र दुर्गा कटवालको घरमा क्षति पुर्याएको वडाध्यक्ष यज्ञप्रसाद सावादेनले जानकारी दिनुभयो।
गणेश कटवालको जग्गामा घर बनाएर बस्दै आएका नरेन्द्र लिम्बुको घर र शौचालयमा समेत क्षति पुगेको छ। बाढीले बाख्रालगायत पशुचौपाया बगाएको छ भने पहिरोसँगै आएको बाढी घरभित्र पसेपछि स्थानीयवासी त्रसित बनेका छन्।त्यसैगरी, मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको बाँधमा समेत बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ। यसैबीच, सोमबार बिहान पहिरोका कारण अवरुद्ध भएको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र वडा नम्बर ६ नाल्बु जोड्ने सडक भने अवरोध हटाइएपछि दिउँसोदेखि पुनः सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ। लगातारको वर्षासँगै पूर्वी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम बढ्दै गएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।