प्रधानमन्त्री ओली चीनको धान उत्पादन विशेष क्षेत्रमा, धान खेतको अवलोकन

हाम्रो पेज

१५ भाद्र २०८२, आईतवार ११:५२

चीन, १५ भाद्र । शाङ्घाई सहयोग सङ्गठन एससीओ को शिखर सम्मेलनका लागि जनवादी गणतन्त्र चीनको थियानजिनमा पाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र राइस कोर प्लान्टिङ एरिया को भ्रमण गर्नुभएको छ। प्रधानमन्त्रीले हुवाइगाउँ भिलेजमा अवस्थित उक्त क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादनका साथै कृषि, पर्यटन र शिक्षालाई एकीकृत गर्दै सञ्चालन गरिएका अनुकरणीय नमुना कार्यहरूबारे विस्तृत जानकारी लिनुभयो। यसै क्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा रहेको चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको पनि आज अवलोकन गर्नुभएको छ।

विदितै छ, चाउ इन्लाई जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानमन्त्रीज्यूको यस अवलोकन भ्रमणमा प्रथम महिला राधिका शाक्यज्यू, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका माननीय सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत महामहिम छन सङज्यू लगायतका विशिष्ट महानुभावहरूको सहभागिता रहेको थियो।