हाम्रो पेज

विराटनगर, ५ असार । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत आठौँ दिनका खेल सम्पन्न भएका छन्। प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै जाँदा सह–आयोजक मेक्सिको नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। दक्षिण कोरियामाथि १–० को महत्वपूर्ण जित निकाल्दै मेक्सिकोले एक खेल बाँकी छँदै अन्तिम ३२ मा स्थान पक्का गरेको हो। यता अर्को सह–आयोजक क्यानडाले पनि ऐतिहासिक उपलब्धि हासिल गरेको छ। जोनाथन डेभिडको ह्याट्रिक प्रेरित उत्कृष्ट प्रदर्शनमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ। त्यसैगरी, समूह ‘बी’ मा स्विट्जरल्यान्डले जोहान मन्जाम्बीको दुई गोलको मद्दतमा बोस्निया–हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। यता समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले चेक गणतन्त्रविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै १–१ को बराबरी खेलेर प्रतियोगितामा पहिलो अंक जोडेको छ।
मन्जाम्बी चम्कँदा स्विट्जरल्यान्डको शानदार जित
लस एन्जलस स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै बोस्निया–हर्जेगोभिनामाथि ४–१ को जित हात पार्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्विट्जरल्यान्डले ७४औँ मिनेटमा जोहान मन्जाम्बीको गोलमार्फत अग्रता लिएको थियो। खेलको ८०औँ मिनेटमा बोस्निया–हर्जेगोभिनाका डिफेन्डर तारिक मुहरेमोभिचले फाउल गरेपछि सिधै रातो कार्ड पाए। त्यसपछि १० खेलाडीमा सीमित बनेको बोस्नियामाथि स्विट्जरल्यान्डले थप दबाब बढायो। ८४औँ मिनेटमा रुबेन भार्गासले टोलीका लागि दोस्रो गोल गरे भने खेलको अन्तिम समयमा मन्जाम्बीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेल लगभग आफ्नो पक्षमा पारे। इन्जुरी समयमा एरमिन माहमिकले एक गोल फर्काए पनि त्यसलगत्तै कप्तान ग्रानिट झाकाले गोल थप्दै स्विट्जरल्यान्डको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे। पहिलो खेल बराबरी खेलेको स्विट्जरल्यान्डले यस जितसँगै नकआउट चरणको सम्भावना थप बलियो बनाएको छ। यता बोस्निया–हर्जेगोभिनाले भने अर्को चरणमा पुग्ने आशा जोगाइराख्न अब आगामी खेल जित्नै पर्ने दबाब सामना गर्नुपर्ने भएको छ।
दक्षिण अफ्रिकाको शानदार पुनरागमन
एटलान्टा स्टेडियममा सम्पन्न समूह ‘ए’ को खेलमा दक्षिण अफ्रिकाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै चेक गणतन्त्रसँग १–१ को बराबरी खेलेको छ। चेक गणतन्त्रले खेलको छैटौँ मिनेटमै अग्रता लिएको थियो। एडम हालोजेकको क्रसलाई अलेक्जेन्डर सोज्काले चतुरतापूर्वक मिखाल काडिलेकसम्म पुर्याए र उनले गोलकिपर रोनवेन विलियम्सलाई छक्याउँदै गोल गरे। पाँच मिनेट आठ सेकेन्डमा भएको यो गोल हालसम्मकै विश्वकप २०२६ को सबैभन्दा छिटो गोल बनेको छ। पहिलो हाफ १–० ले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो हाफमा निरन्तर दबाब सिर्जना गर्यो। अन्ततः ८३औँ मिनेटमा थेबोहो मोकोएनाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा टुंगियो। यस नतिजासँगै दुवै टोलीले दुई खेलबाट समान एक–एक अंक जोडेका छन्।
क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सह–आयोजक क्यानडाले घरेलु समर्थकमाझ कतारलाई ६–० ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ। क्यानडाको जितमा जोनाथन डेभिड नायक बने। उनले ह्याट्रिक पूरा गर्दा साइल लारिनले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २९औँ मिनेटमा डेभिडले गोल थप्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर उनले अर्को गोल गर्दै स्कोर ३–० पुर्याए। दोस्रो हाफको सुरुआतमा क्यानडालाई झट्का लाग्यो। मिडफिल्डर इस्माइल कोने कतारका आसिम मादिबोको ट्याकलबाट गम्भीर घाइते भए। भिएआर समीक्षा पछि मादिबोको पहेँलो कार्ड रातो कार्डमा परिणत गरियो। त्यसको केही समयपछि कतारका अर्का खेलाडी आसिम ओमामिदोले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो। यसको पूरा फाइदा उठाउँदै विकल्पका रूपमा मैदान प्रवेश गरेका नाथन सालिबाले ६४औँ मिनेटमा चौथो गोल गरे। त्यसपछि जेकब शाफेलबर्गको प्रहार क्लियर गर्ने क्रममा मोहम्मद मनाईबाट आत्मघाती गोल हुन पुग्यो र स्कोर ५–० बन्यो। इन्जुरी समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडाको ऐतिहासिक ६–० को जित सुनिश्चित गरे।
मेक्सिकोको लगातार दोस्रो जित, नकआउटमा स्थान सुरक्षित
घरेलु मैदानमा खेलिरहेको मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्न सफल भयो। खेलको निर्णायक गोल ५०औँ मिनेटमा लुइस रोमोले गरे। दक्षिण कोरियाली गोलकिपर किम सुङ–ग्यु आफ्नै डिफेन्डर ली गी–ह्युकसँग ठोक्किँदा बल नियन्त्रणबाट बाहिरिएको थियो। त्यही अवसरलाई सदुपयोग गर्दै रोमोले खाली पोस्टमा सहज गोल गरे। दक्षिण कोरियाले खेलमा फर्कने प्रयास गरे पनि मेक्सिकोका गोलकिपर राउल रान्गेल बाधक बने। ८७औँ मिनेटमा उनले चो गुए–सुङको हेडर र त्यसपछि आएको रिबाउन्ड दुवै बचाउँदै टोलीको जित सुरक्षित गरे। सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिकोका लागि घरेलु समर्थकमाझ लगातार दोस्रो जित ठूलो उपलब्धि बनेको छ। समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेको मेक्सिको शीर्ष स्थानमा छ। दक्षिण कोरियाको ३ अंक छ भने चेक गणतन्त्र र दक्षिण अफ्रिकाको समान १–१ अंक रहेको छ। उल्लेखनीय रूपमा, ४८ टोली सहभागी यसपटकको विस्तारित विश्वकपमा पहिलोपटक ‘राउन्ड अफ ३२’ नकआउट प्रणाली लागू गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट आठ तेस्रो स्थानका टोलीले अर्को चरणमा स्थान बनाउनेछन्। मेक्सिकोले भने एक खेल अगावै नकआउट चरणको टिकट सुरक्षित गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।