हाम्रो पेज
काठमाडौं, ३ असार। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ। कप्तान लियोनल मेस्सीको शानदार ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित दर्ता गरेको हो।
अमेरिकास्थित कान्सास सिटि स्टेडियममा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा मेस्सी अर्जेन्टिनाको जितका नायक बने। उनले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। यो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अंक जोड्दै शीर्ष स्थानमा आफ्नो अभियान सुरु गरेको छ।
विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सीका लागि यो उपलब्धि विशेष रह्यो । उनले आफ्नो विश्वकप करिअरमा पहिलो पटक ह्याट्रिक पूरा गरे। साथै, विश्वकपमा व्यक्तिगत गोल संख्या १६ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोसले बनाएको सर्वाधिक गोलको कीर्तिमान पनि बराबरी गरे। सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका मेस्सीले २०१० बाहेकका सबै विश्वकप संस्करणमा गोल गरेका छन्।
खेलको सुरुवाती चरणमै मेस्सीले जाली चुमाए पनि अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। यस्तै, अल्जेरियाले गरेको एक गोल पनि अफसाइडकै कारण रद्द भएको थियो।
यस खेलमार्फत मेस्सीले अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा लेखाए। उनी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्चियानो रोनाल्डोको नाममा थियो, जसले ३३ वर्ष एकसय ३० दिनको उमेरमा विश्वकप ह्याट्रिक गरेका थिए। मेस्सीले भने ३८ वर्ष तीनसय ५७ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन्।
विश्व फुटबलमा अनेक कीर्तिमान बनाइसकेका मेस्सीले यस पटक अर्को दुर्लभ उपलब्धि पनि आफ्नो नाममा लेखाएका छन्। अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै उनी इतिहासमा छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बने। उनले सन् २०१० बाहेकका सबै विश्वकप संस्करणमा गोल गर्न सफल भएका छन्।
चार वर्षअघि सन् २०२२ मा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी अहिले पनि टोलीका प्रमुख खेलाडीका रूपमा देखिएका छन्। विश्वकपमा सर्वाधिक २७ खेल खेल्ने कीर्तिमानसमेत उनकै नाममा रहेको छ।