search logo
NOTIFICATIONS

कटहरी खानेपानी आयोजनामा सञ्चालकले तिरेनन् बक्यौता, महसुल तिर्ने उपभोक्ताको धारामा भने लेदोयुक्त पानी

हाम्रो पेज

२७ जेष्ठ २०८३, बुधबार १६:४६
फाईल तस्वीर: कटहरी खानेपानी आयोजना

विराटनगर, २७ जेष्ठ I मोरङको कटहरी खानेपानी आयोजनाका केही सञ्चालकले वर्षौंदेखि खानेपानीको महसुल नतिरेको तथ्य सार्वजनिक भएको छ। धारामा लेदोयुक्त पानी आउन थालेपछि उपभोक्ताले आयोजनासँग जवाफ माग्ने क्रममा लामो समयदेखि सञ्चालकहरूले नै बिल नतिरेको खुलासा भएको हो।

आयोजनाका व्यवस्थापक किरण राजवंशीले बिल नतिर्ने व्यक्तिहरूको नाम र बक्यौता रकम सार्वजनिक गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। कटहरी–२ का नेपाली कांग्रेस सभापति सञ्जय मण्डलले फेसबुक लाइभमार्फत बिलसम्बन्धी विवरण माग गरेका थिए। सो क्रममा सार्वजनिक भएको भिडियोमा आयोजनाका उपाध्यक्ष श्याम मण्डलले ३६ हजार ८ सय ८४ रुपैयाँ महसुल नतिरेको देखिएको छ।

व्यवस्थापक राजवंशीले कम्प्युटर रेकर्ड देखाउँदै उक्त रकम अझै भुक्तानी हुन बाँकी रहेको बताएका छन्। त्यस्तै, गाउँपालिका अध्यक्ष तथा आयोजनाका सल्लाहकार देवराज चौधरीको नाममा पनि २० हजार १ सय १२ रुपैयाँ बक्यौता रहेको विवरण सार्वजनिक भएको छ। राजवंशीले आयोजनाका सदस्य मृत्युञ्जय झाको नाममा पनि बिल बाँकी रहेको जानकारी दिएका छन्।

उपभोक्ता मण्डलले सञ्चालकहरूले नै बिल नतिरेको अवस्थामा सामान्य उपभोक्ताको थोरै रकम बाँकी रहँदा पानीको लाइन काटिने गरेको गुनासो गर्दै व्यवस्थापकसँग विवरण माग गरेको थियो। सुरुमा राजवंशीले जानकारी दिन अस्वीकार गरेपछि मण्डलले फेसबुक लाइभमार्फत आयोजनाका अध्यक्ष विद्यानन्द चौधरीसँग अनुमति मागेका थिए। अनुमति पाएपछि राजवंशीले सम्बन्धित विवरण सार्वजनिक गरेका हुन्।

उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ। राजवंशीका अनुसार बिल नतिर्नेहरूलाई यसअघि नै पटक–पटक पत्राचार गरिएको थियो। “दुई–तीन महिना बिल नतिरेपछि पत्र पठाउँछौँ,” उनले भिडियोमा भनेका छन्। उपभोक्ता मण्डलले आयोजनाका अधिकांश सञ्चालकले महसुल नतिर्ने गरेको र उपभोक्ताबाट उठेको रकमबाट भ्रमणमा जाने गरिएको आरोपसमेत लगाएका छन्।

यता, धारामा फोहोरयुक्त पानी आउन थालेपछि कटहरीका धेरै उपभोक्ता प्रभावित भएका छन् । सफा पानीको माग गर्दै उपभोक्ता बुधबार आयोजनाको कार्यालय पुगेका थिए। २०५८ सालमा स्थापना भएको उक्त आयोजनाले बोरिङबाट सिधै उपभोक्तालाई पानी उपलब्ध गराउँदै आएको थियो। वडा नम्बर २ का लागि गाउँपालिकाले हालै पानी उपचार प्लान्ट जडान गरेपछि समस्या देखिन थालेको जनाइएको छ।

आयोजनाका अनुसार प्लान्टले उच्च चापमा पानी प्रवाह गर्दा वर्षौंदेखि पाइपमा जमेको फोहोर बगेर आएको हो। गाउँपालिकाले करिब तीन साताअघि ४४ लाख ५० हजार रुपैयाँ लागतमा उपचार प्लान्ट जडान गरेपछि पानीको दबाब बढेको थियो। पाइप सफा नभएसम्म राति ९ बजेदेखि १२ बजेसम्म मात्रै पानी वितरण गरिने खानेपानी आयोजनाका अध्यक्ष तथा पूर्वसांसद विद्यानन्द चौधरीले बताएका छन्।