मोरङमा लागूऔषधविरुद्ध ‘महाअभियान २०८३’ सुरु

हाम्रो पेज

१० जेष्ठ २०८३, आईतवार १७:३७

विराटनगर, १० जेष्ठ । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘लागूऔषधविरुद्धको महाअभियान २०८३’ शनिबार विराटनगरबाट औपचारिक रूपमा शुभारम्भ गरेको छ। अभियानको पहिलो चरणअन्तर्गत विराटनगरको महेन्द्र चोकबाट प्रभातफेरी निकालिएको थियो। प्रतिनिधिसभा सदस्य आशा झाले रिबन काटेर उद्घाटन गरेको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सचेतनामूलक प्लेकार्डसहित निकालिएको प्रभातफेरी जलजला चोक, गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो। कार्यक्रमको दोस्रो चरण विराटनगर–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको नाटक, लागूऔषधविरुद्ध चेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूबीच सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले मोरङ प्रहरीले सुरु गरेको अभियानले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यका लागि लागूऔषध नियन्त्रण अपरिहार्य रहेको बताउनुभयो। उहाँले विराटनगरबाट सुरु भएको अभियान देशव्यापी रूपमा विस्तार हुने विश्वास व्यक्त गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम र समुदायको साझा दायित्व भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, गृह मन्त्रालयका सहसचिव एवं लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले लागूऔषधविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले लागूऔषध नियन्त्रणका लागि सबै क्षेत्रको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले अभियानको उद्देश्य, औचित्य तथा जिल्लामा लागूऔषध दुर्व्यसनको अवस्था र चुनौतीबारे प्रस्तुति दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।