पत्रकारहरु आन्दोलनमा होमिन तयार हुनुपर्छ: अध्यक्ष शर्मा

हाम्रो पेज

७ जेष्ठ २०८३, बिहीबार १७:४४
विराटनगर, ७ जेठ । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारविरुद्ध आन्दोलनको संकेत गर्दै पत्रकारहरूलाई तयारी अवस्थामा रहन आह्वान गर्नुभएको छ ।
विराटनगरमा आज नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष शर्माले सरकारी विज्ञापन वितरण प्रक्रियामा सरकारले देखाएको रवैयाप्रति असन्तुष्टि जनाउँदै निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब आन्दोलनको विकल्प छैन, देशभरका पत्रकार आन्दोलनमा होमिन तयार भएर बस्नुपर्छ ।’
सरकारले तानासाह प्रवृति देखाउँदै सञ्चार क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै उहाँले पत्रकारहरू एकजुट भएर प्रतिरोधमा उत्रिनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । ‘सरकारले सहज हिसाबले टेर्नेवाला छैन, अब जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र काठमाडौंसम्म आन्दोलन गर्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो ।
अध्यक्ष शर्माले सञ्चार क्षेत्रमाथि हस्तक्षेप बढे लोकतन्त्र नै संकटमा पर्न सक्ने चेतावनी दिँदै बहुमतको सरकार लोकतन्त्रकालागि चुनौती बन्नसक्ने धारणा राख्नुभयो । सरकारी विज्ञापन वितरण प्रक्रिया पारदर्शी र न्यायोचित बनाउन सरकार जिम्मेवार बन्नुपर्ने उहाँले माग गर्नुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले पत्रकारहरुको वृति विकास र कार्यक्रममा महानगरपालिका सधैंव साथमा रहेको धारणा व्यक्त गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वालले जिल्लाको सुरक्षाको सवालमा पत्रकारहरुसँग सहकार्य गरिरहने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष रविनकुमार दाहालले पत्रकारहरूले बेथिति र अराजकताविरुद्ध निरन्तर प्रश्न उठाइरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेल, महासंघ कोशी प्रदेशका संस्थापक महासचिव एवम् प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लिलावल्लव घिमिरे, महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासंघ मोरङका पूर्व अध्यक्ष एवम् समाजवादी प्रेस संगठन कोशीका अध्यक्ष वन्धु पोखरेललगायतले पत्रकारका हकहितका विषयमा बोल्नुभएको थियो । कार्यक्रममका वक्ताहरुले पछिल्लो समय सञ्चार क्षेत्र त्रासको वातावरणमा रहेको टिप्पणी गरे ।

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारणसभाको बन्दसत्रमा महासंघ मोरङका सचिव नेत्र पी अधिकारीको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष कौशल निरौलाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा वातावरण विषयमा विद्यावारिधि गर्नुभएका नेपाल पत्रकार महासंघ मोरङका पूर्वउपाध्यक्ष रामचन्द्र अधिकारी र तीन दशकदेखी कार्यरत कार्यलय सचिव दीपक फुयाँललाई सम्मान गरिएको थियो । यस्तै पत्रकार र पत्रकारका परिवारलाई उपचारमा सहुलियत प्रदान गर्ने विराटनगरको न्यूरो अस्पताललाई पनि सम्मान गरिएको थियो ।