हाम्रो पेज

इलाम,अषाढ १८। कानुनको आँखाबाट कोही पनि उम्कन सक्दैन, भन्ने भनाइलाई चरितार्थ गर्दै इलाम प्रहरीले कर्तव्य ज्यान मुद्दामा ४५ वर्षदेखि फरार रहेका एक ७६ वर्षीय वृद्धलाई पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला अदालत इलामले २०३८ सालमै १० वर्ष कैद सजाय सुनाएका सन्दकपुर गाउँपालिका–५ का टील बहादुर गुरुङलाई प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी निरीक्षक सञ्जीव बोगटीका अनुसार, अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका गुरुङ गाउँघरमै लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको एक विशेष टोली खटाइएको थियो। उक्त टोलीले २०८१ असार १७ गते गुरुङलाई पक्राउ गर्न सफल भयो।

के थियो घटना ?
इलाम जिल्ला अदालतले मिति २०३८ साल जेठ १२ गते गुरुङलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसलालगत्तै फरार भएका गुरुङले प्रहरी र कानुनको आँखा छल्दै साढे चार दशक बिताएका थिए। तर, प्रहरीको निरन्तरको अनुसन्धान र फैसला कार्यान्वयन अभियान अन्तर्गत अन्ततः उनी पक्राउ परेका हुन्। पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार, इलाममा पठाइएको प्रहरीले जनाएको छ। यो सफल कारबाहीले लामो समयसम्म फरार रहेका अपराधीहरू पनि एक दिन कानुनी दायरामा आउने र पीडितले न्याय पाउने कुरालाई पुनः पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामले फरार अभियुक्तहरूको खोजी कार्यलाई थप तीव्रता दिएको जनाएको छ।