मोरङका विनोद ढकाल एमाले सचिवमा लड्दै, कोशीबाटै ८ जनाको दाबेदारी

हाम्रो पेज

२३ मंसिर २०८२, मंगलवार १३:१६

विराटनगर, २३ मंसिर । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लाग्नु भएका मोरङका स्थापित नेता विनोद ढकालले एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ ।

कोशी प्रदेशबाटै केन्द्रको संस्थापन पक्षलाई टक्कर दिँदै आउनु भएका ढकालले ईश्वर पोखरेलको टिममा रहेर सचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । भूमिगतकालमै अनेरास्ववियुको मोरङको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्नुभएका ढकालले पार्टी राजनीतिमा पनि छुट्टै पहिचान बनाउनु भएको छ । पार्टी राजनीतिमा पनि ढकालले वडा तहदेखि केन्द्रीय कमिटीको समेत जिम्मेवारी सम्हालिसक्नु भएकोछ ।

अखिलबाट बिदा लिएलगत्तै भूगोलको पार्टी काममा होमिनु भएका ढकाल राजनीतिक बैचारिक कार्य अनुभव र संगठनात्मक कार्यसम्पादनको हकमा चाहिने क्षमताको अपार स्रोत मानिनुहुन्छ । मोरङ जिल्ला कमिटीमा अध्यक्ष, जिल्ला इञ्चार्ज रहँदै दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित नेता ढकाल कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्ष पदमा झिनो मतले पराजय भएसँगै राजनीतिक भूमिकाका हिसावले कुनै खास पदभारमा रहनु भएको छैन् ।

पार्टीको खास जिम्मेवारी र भूमिकाबाहिर रहे पनि युवामाझ लोकप्रिय ढकालले एमाले मोरङ र विराटनगर महानगरमा आफ्नो पक्षीय नेतृत्वलाई विजयी बनाउनु भएको छ । एमालेमा ढकालसहित कोशी प्रदेशबाट सचिवमा दाबेदारी गर्नेहरुको लामो सूची छ । कोशीबाट परशुमेघी गुरुङदेखि संस्थापक मुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री हिक्मत कार्कीसम्म सचिवका दावेदार रहनु भएको छ । कोशी प्रदेशकै स्थायी समिति सदस्यहरु भानुभक्त ढकाल, राजेन्द्र गौतम, जीवन घिमिरे र अग्नि खरेल पनि सचिवको दौडमा हुनुहुन्छ। उहाँहरु सबै संस्थापन केपी शर्मा ओली पक्षका हुनुहुन्छ । संस्थापन इतरबाट भने कोशीबाट ढकालमात्रै रहनु भएको छ । विधान अनुसार एमालेमा अब १५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा अबको महाधिवेशनबाट ७ जना सचिव बन्नेछन् ।