
धनगढी , १५ भाद्र । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले निजी मेडिकल कलेजहरूको सिट वृद्धि लगायतका पछिल्ला निर्णयहरूको विरोधमा तीन दिने सत्याग्रहको घोषणा गर्नुभएको छ। उहाँले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा एक पत्रकार सम्मेलनमार्फत आफ्नो सत्याग्रह प्रारम्भ गर्नुभएको हो। पत्रकार सम्मेलनमा डा. केसीले भन्नुभयो, निजी मेडिकल कलेजहरूको सिट वृद्धिले नेता र माफियाको स्वार्थ पूर्ति हुन्छ, तर यसले शिक्षाको गुणस्तरमा गम्भीर ह्रास ल्याउँछ। गुणस्तर खस्किनु भनेको अन्ततः स्वास्थ्य सेवामा गिरावट आउनु हो, जुन आम नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्नु सरह हो। उहाँले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र सर्वसाधारणलाई कुनै लाभ नपुग्ने बरु समग्र शिक्षा र स्वास्थ्य प्रणालीलाई नै धरापमा पार्ने चिन्ता व्यक्त गर्नुभयो। डा. केसीका अनुसार नेपालमा अझै पनि सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार अपरिहार्य रहेको अवस्थामा सरकार उल्टै निजी कलेजहरूलाई पोस्ने नीतिमा केन्द्रित भएको छ। उदाहरणका लागि, उहाँले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले १०० विद्यार्थी पढाउन हिचकिचाइरहेको बेला पर्याप्त पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजहरूलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो। सत्याग्रहसँगै डा. केसीले विभिन्न मागहरू पनि अगाडि सार्नुभएको छ। उहाँका मुख्य मागहरूमा निजी मेडिकल कलेजहरूको सिट वृद्धि तत्काल फिर्ता लिनु पर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पतालहरू स्थापना गरिनुपर्ने, तथा कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने रहेका छन्। यसैगरी, डा. केसीले पूर्व सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन पनि सरकारसँग जोडदार माग गर्नुभएको छ।