हाम्रो पेज

काठमाडौँ, वैशाख २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गर्नुभएको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उहाँले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधार गर्ने रहेको स्पष्ट पार्नुभयो । सभापति लामिछानेले सरकारको सुशासन अभियानमा साथ दिन आग्रह गर्दै सरकार उद्योगी व्यवसायीसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताउनुभयो । यद्यपि, अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उहाँको भनाइ थियो । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबाबमा परेका घटनालाई सरकारले आत्मसात् गरेको उल्लेख गर्दै उहाँले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आश्वस्त पार्नुभयो । व्यवसायीको मनोबल खस्किएको चर्चा चल्न थालेपछि आफूले छलफल अगाडि बढाएको बताउँदै उहाँले भन्नुभयो, “तपाईंहरू अलिकति पनि चिन्ता नगर्नुहोस् । सुशासनको एजेन्डालाई द्रुत गतिमा अगाडि बढाउँदा केही प्रश्न उठेका हुन सक्छन्, त्यसलाई सहज रूपमा लिनुहोला । सरकारको उद्देश्य कुनै पनि व्यवसायीलाई धराशायी बनाउने छैन ।” उहाँले अर्थतन्त्रलाई नै सिध्याउने गरी भएका संस्थागत बेथितिमा भने राज्य निर्मम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा राजनीतिक अस्थिरताका कारण तपाईंहरू नेताका ढोका ढक्ढक्याउन र कतिपय मूल्य–मान्यता मिच्न बाध्य हुनुभयो होला, त्यो हामीले बुझेका छौँ,” लामिछानेले भन्नुभयो, “अब निर्धक्क हुनुहोस्, कुनै पनि व्यवसायीले मेरो घर वा पार्टी कार्यालय धाइरहनु पर्दैन । तपाईंहरूलाई नीतिले नै सुरक्षा दिनेछ ।” सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनका बेला जनतामाझ गरिएको वाचापत्रका आधारमा सञ्चालन हुने दाबी गर्नुभयो । उहाँले उद्योगीलाई आफ्ना कमीकमजोरी मूल्याङ्कन गर्न र आन्तरिक लेखापरीक्षण गरी विगतका गल्ती सच्याउन राज्यसँग सहकार्य गर्न सुझाव दिनुभयो । नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उहाँले ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेकोले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न उहाँले आह्वान गर्नुभयो ।
निजी क्षेत्रलाई रविका १० सन्देश
व्यवसायीलाई आश्वासनः सरकारले केही व्यवसायीमाथि धरपकड गरे पनि निजी क्षेत्र डराउनु हुँदैन । उद्योगी–व्यवसायी डराउनुपर्ने अवस्था छैन, सरकार उनीहरूलाई दुःख दिन चाहँदैन।
अर्थतन्त्र सुधारको रोडम्यापः वास्तविक अर्थतन्त्र विकासका लागि रास्वपाले स्पष्ट योजना बनाएको दाबी।
उत्पादनमुखी अर्थतन्त्रमा जोडः आयातमुखीभन्दा उत्पादनमुखी अर्थतन्त्रतर्फ देशलाई लैजानुपर्ने आवश्यकता औंल्याए।
एकाधिकारविरुद्ध कडा कदमः केही समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गरेकाले सरकारले कडा रूपमा हस्तक्षेप गर्ने।
कर सुधारमा सकारात्मकताः उच्च आयकर दर घटाउने विषयमा सरकार सकारात्मक रहेको संकेत।
निजी क्षेत्रको भूमिका महत्वपूर्णः रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रमुख योगदान रहेको स्वीकार।
आईपीओमा कडाइः घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति।
नीतिगत सुधार र सहजीकरणः लाइसेन्स प्रक्रिया छिटो बनाउने, एमआरपी लगायत समस्या बजेटमार्फत सम्बोधन गर्ने तयारी।
सुरक्षा र सहकार्यको प्रतिबद्धताः निजी क्षेत्रलाई सुरक्षित वातावरण दिने र निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता।
सहकार्यः सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रसँग सरकारको सहकार्य