विराटनगर र इजरेली शहर वीर शिभाबीच भगिनी सम्बन्ध जोड्ने तयारी

हाम्रो पेज

११ भाद्र २०८२, बुधबार १५:०२

विराटनगर, ११ भाद्र । कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिका र इजरेली शहर वीर शिभा बीच भगिनी सम्बन्ध जोड्ने तयारी गरिएको छ । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच आज भएको महत्वपूर्ण भेटघाट तथा छलफलमा भगिनी सम्बन्ध जोड्ने विषयमा कुराकानी भएको हो । विराटनगर महानगरपालिकामा भएको यस भेटमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको समेत उपस्थिति थियो। भेटघाटको क्रममा इजरायली राजदूत बासले विराटनगर र इजरायलको वीर शिभा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने बताउनुभयो। यस सम्बन्ध स्थापनाका लागि राजदूत निकै उत्साहित देखिएको सलोन सदस्य सोम अधिकारीले जानकारी दिनुभयो। यसले दुई सहरबीच सांस्कृतिक आदानप्रदान, आर्थिक सहकार्य र प्रविधि हस्तान्तरणका लागि नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।
मेयर कोइरालाले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको यथाशीघ्र रिहाइका लागि राजदूत बाससमक्ष जोडदार आग्रह गर्नुभयो। विपिन जोशीको सुरक्षा र सकुशल रिहाईका लागि नेपाल सरकार र परिवार चिन्तित रहेको भन्दै मेयरले इजरायल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। छलफलका क्रममा सूचना प्रविधि र कृषि क्षेत्रमा नेपाली युवाहरूलाई इजरायलमा रोजगारीका अवसर प्रदान गर्ने विषयमा पनि महत्वपूर्ण कुराकानी भएको छ। इजरायलको उन्नत कृषि प्रविधि र सूचना प्रविधि क्षेत्रमा नेपाली युवाहरूका लागि तालिम तथा रोजगारीको सम्भावनाबारे दुई पक्षबीच चासो व्यक्त भयो। सो अवसरमा मेयर कोइरालाले इजरायल र इरानबीचको युद्धका क्रममा आफूलाई इजरायलबाट स्वदेश फर्काउन सहयोग गरेकोमा राजदूत मार्फत इजरायल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको मेयर कोइरालाको सचिवालयले जनाएको छ ।