हाम्रो पेज
![]()
काठमाडौं, ३० असार । राजधानी काठमाडौंमा सोमबार बिहान सञ्चारगृह, राजनीतिक नेताको निवास र व्यावसायिक केन्द्रलाई लक्षित गर्दै शंकास्पद ढंगले गाडी पार्क गरिएका घटनाले सुरक्षा संयन्त्र, सरकार र राजनीतिक वृत्तमा गम्भीर प्रश्न खडा गरेको छ। एकै दिन फरक–फरक स्थानमा गेट नै अवरुद्ध हुने गरी गाडी छाडिएपछि यसलाई सामान्य पार्किङभन्दा योजनाबद्ध गतिविधिका रूपमा हेरिएको छ।
सबैभन्दा पहिले बिहान करिब ६ बजे तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्य प्रवेशद्वारमै बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी छाडिएको भेटियो। गाडीका कारण कार्यालय प्रवेश नै अवरुद्ध भएको थियो। त्यसको केही समयमै बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय अगाडि बा १२ च ८५४५ नम्बरको गाडी र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशमार्गमा बा १० च १२५५ नम्बरको अर्को गाडी उस्तै शैलीमा पार्क गरिएको फेला पर्यो। यति मात्र होइन, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पनि सडक अवरुद्ध हुने गरी अर्को गाडी छाडिएको भेटियो। केही समयपछि नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्क गरिएको सूचना बाहिरियो।
गाडी कसको ?
यातायात व्यवस्था विभागका अनुसार कान्तिपुर अगाडि छाडिएको गाडी सानिमा बैंकको नाममा दर्ता भए पनि एसटी मोटर्सले प्रयोग गरिरहेको देखिएको छ। उक्त गाडी रवि जयसवालले चलाउने गरेको खुलेको छ। जयसवाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रहेको जानकारी सार्वजनिक भएको छ। कान्तिपुरका मानव संशाधन प्रमुख परमानन्द खनालका अनुसार सम्पर्क गर्दा जयसवालले आफू नगरकोटमा रहेको र गाडी साथीलाई दिएको बताएका थिए। त्यसपछि उनको मोबाइल बन्द भएको थियो। अनलाइनखबर अगाडिको गाडी सुनील पौडेलको नाममा दर्ता रहेको छ भने हिमालय टेलिभिजन अगाडिको गाडी डीआर अटोमोटिभ्सको नाममा रहेको खुलेको छ। भाटभटेनी अगाडिको गाडीबारे भने अनुसन्धान जारी छ।
गगन थापाको आरोप
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निवास अगाडि गाडी राख्ने व्यक्ति ूप्रशासनकै गाडी चढेर गएको सूचना आफूले पाएको दाबी गर्नुभएको छ । आज मेरो घर अगाडि गाडी राखेको होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गर्नेहरूलाई तर्साउने प्रयास भइरहेको छ। गगनले भन्नुभयो । यद्यपि, प्रहरीले भने यस दाबीबारे अनुसन्धान भइरहेको जनाएको छ र यसलाई पुष्टि गरेको छैन। पार्टीको एक कार्यक्रममा बोल्दै आफ्नो पहिला घर भएको ठाउँमा ७ बजेतिर दुई जना आएर गाडी राखेर हिँडेको बताउनुभयो ।
रास्वपाको पनि छानबिन माग
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सञ्चारगृहलाई त्रसित बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्यविपरीत रहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।