हाम्रो पेज


सरकारको निर्देशन नमान्ने कुनै पनि प्रसारण संस्थाको प्रसारण बन्द गराउने र इजाजतपत्र खारेज गर्नेसम्मको कठोर अधिकार पनि रजिष्ट्रारलाई दिइएको छ । यसले सरकारको आलोचना गर्ने सञ्चारमाध्यमलाई तारो बनाउन सक्ने खतरा बढाएको छ । विधेयकमा प्रस्तावित कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानु को अध्यक्षलाई अधिकारविहीन सेरेमोनियल भूमिकामा सीमित गरी कार्यकारी अधिकार पुनः सरकारी नियुक्ति खाने रजिष्ट्रारलाई नै दिइएको छ । पत्रकार महासंघले अध्यक्षलाई कार्यकारी बनाउन दिएको सुझावलाई पूर्ण रूपमा लत्याइएको छ ।

यो विधेयक पारित गराउन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदहरूले जस्ताको तस्तै पारित गर्नुपर्ने अडान राखेका थिए भने सत्तारुढ दल नेपाली काँग्रेसका सांसदहरूले समेत त्यसमा साथ दिएका थिए । पत्रकारहरूले यो विधेयकलाई प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने कालो कानूनको संज्ञा दिँदै यसलाई तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले संविधानप्रदत्त वाक तथा प्रकाशन स्वतन्त्रतामाथि नै अंकुश लगाउने गरी आएको विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने र माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण प्रदर्शनमाथिको प्रहरी हस्तक्षेपले सरकार प्रेसलाई नियन्त्रण गर्न कति हतारिएको छ भन्ने प्रष्ट भएको पत्रकारहरूको भनाइ छ ।