फिलिपिन्समा शक्तिशाली भूकम्पः १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते

हाम्रो पेज

२५ जेष्ठ २०८३, सोमबार १२:२५
फिलिपिन्समा भूकम्पपछि इन्डोनेसियामा सुनामीका लहर, जापानमा अलर्ट जारी


एजेन्सी, २५ जेष्ठ । दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तिमा १५ जनाको मृत्युभएको छ भने १२९ भन्दा बढी घाइते भएको बीबीसीले जनाएकोछ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७दशमलव ८ म्याग्निच्युडको तीव्र गतिको भूकम्प गएको हो। भूकम्प स्थानीय समयअनुसार बिहान ७ः ३७ बजे महसुस गरिएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्रविन्दु मिन्डानाओ टापुमा अवस्थित जनरल स्यान्टोस सहरभन्दा १३ किलोमिटर दक्षिण पश्चिममा जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो । अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा लगातार थुप्रै परकम्पहरू गइरहेका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले हालसम्म कम्तीमा १६ वटा परकम्पहरू रेकर्ड गरिसकेको छ, जसको तीव्रता १दशमलव३ देखि ६दशमलव ७ म्याग्निच्युडसम्म रहेको छ। भूकम्पलगत्तै मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका व्यक्त गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मिन्डानाओ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको खबरहरू बाहिरिएका छन् ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका सर्वसाधारणलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ जान अपिल गरिएको छ । हालसम्म भूकम्पबाट भएको भौतिक क्षति वा मानवीय हताहतीको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।फिलिपिन्समा आएको भूकम्पको प्रभाव छिमेकी देश इन्डोनेसियामा समेत देखिएको छ । इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ७ः२० बजे देशका तीन तटीय इलाकामा सुनामीका लहरहरू प्रत्यक्ष देखिएका हुन् । एजेन्सीका अनुसार इन्डोनेसियाको उत्तरी मलुकु प्रान्तको केदी, उलु सियाउ र मेलोन्गुआनेमा सुनामीका लहरहरू रेकर्ड गरिएका हुन् । यद्यपि, यी लहरहरूको उचाइ निकै कम अर्थात् ० दशमलव०९ मिटरदेखि ०दशमलव १९ मिटरको बीचमा मात्रै सीमित रहेको बीएमकेजीले जनाएको छ ।

यसैबीच, जापानले पनि सम्भावित सुनामीलाई लिएर आफ्नो देशमा चेतावनी अलर्ट जारी गरेको छ । जापानी अधिकारीहरूले स्थानीय समयअनुसार बिहान ११ बजेसम्म देशको दक्षिणी ओकिनावा टापु र प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेका प्रान्तहरूमा १ मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने चेतावनी दिएका छन् । सम्बन्धित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र तटीय क्षेत्रभन्दा टाढा रहन आग्रह गरिएको छ ।