४६ जिल्लामा बाढीको चेतावनी, केही स्थानमा धेरै भारी वर्षा,उच्च सतर्कता अपनाउन आग्रह

हाम्रो पेज

२७ श्रावण २०८२, मंगलवार १२:०३
 फाइल तस्विर
फाइल तस्विर
विराटनगर २७ श्रावण । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै सक्रिय हुँदा देशभर मौसम बदली भई व्यापक वर्षाको सम्भावना बढेको छ। यससँगै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले राजधानी काठमाडौंसहित देशका ४६ जिल्लामा आकस्मिक बाढीको जोखिम औंल्याउँदै मंगलबारका लागि विशेष चेतावनी (अलर्ट) जारी गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ। विशेषगरी, आज रातिदेखि मौसम अझै सक्रिय हुने देखिन्छ। मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश, कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा जनजीवन प्रभावित हुनसक्छ। बाढी पूर्वानुमान महाशाखाले प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि लगातारको वर्षाले जलस्तर उल्लेख्य बढ्न सक्ने चेतावनी दिएको छ। विशेषगरी, साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ। महाशाखाले ४६ जिल्लालाई “पहेँलो अलर्ट“ मा राख्दै सतर्क रहन आग्रह गरेको छ।
१. आकस्मिक बाढीको मध्यम जोखिम (उच्च सम्भावना)
यी जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको खतरा तुलनात्मक रूपमा बढी रहेको छः
इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ
दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन
पर्सा, बारा
डोल्पा, कैलाली, कञ्चनपुर
२. आकस्मिक बाढीको मध्यम जोखिम (मध्यम सम्भावना)
यी जिल्लाहरूमा पनि नदीको बहाव बढ्ने र सतर्कता अपनाउनुपर्ने देखिन्छः
ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु
सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली
काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर
धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी
प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी (पश्चिम)
डडेलधुरा, डोटी, बैतडी
विभागले जोखिममा रहेका जिल्लाका बासिन्दालाई निम्न उपायहरू अपनाउन अनुरोध गरेको छः
नदी किनार, खोलाको बगर तथा होचा भूभागहरूमा जाँदा विशेष सावधानी अपनाउने।
पहाडी क्षेत्रमा यात्रा गर्दा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्ने।
मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचनाहरूमा निरन्तर ध्यान दिने।
सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्ने।
मनसुनको यो सक्रिय अवधिमा हुने भारी वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाउने हुँदा सबै नागरिकले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।