search logo
NOTIFICATIONS

रवि लामिछानेको जेल बसाइ पञ्चायतकालभन्दा पनि कष्टकरः डा. बाबुराम भट्टराई

हाम्रो पेज

२२ श्रावण २०८२, बिहीबार १४:३७

श्रावण, २२ काठमाडौं ।नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमै पुगेर भेटवार्ता गर्नुभएको छ। लुम्बिनी प्रदेशमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा डा. भट्टराईले बिहीबार बिहान जिल्ला कारागार, भैरहवामा लामिछानेलाई भेट्नुभएको हो। भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. भट्टराईले लामिछानेको कारागार बसाइको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले एकजना निर्वाचित सांसदलाई भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको अवस्थामा थुनामा राखिरहनु आवश्यक नभएको तर्क गर्दै थुना बाहिरै रहेर मुद्दाको सामना गर्न दिनुपर्नेमा जोड दिनुभयो। जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो, डा. भट्टराईले भन्नुभयो। डा. भट्टराईले लामिछानेलाई कारागारभित्र पत्रपत्रिका जस्ता सामान्य सूचनाको स्रोतबाट समेत वञ्चित गरिएकोमा आश्चर्य प्रकट गर्नुभयो। उहाँले आफ्नो पञ्चायतकालीन जेल जीवनको स्मरण गर्दै भन्नुभयो, हामी त पञ्चायतकालमा जेल बस्दा पनि पढ्न पाउँथ्यौँ। मैले प्रहरीलाई सोधें, तर उहाँहरूले त्यस्तो आदेश नभएको बताउनुभयो। कम्तीमा सूचनाबाट वञ्चित गर्न चाहिँ हुँदैनथ्यो। लामिछानेलाई साँघुरो र एक्लो कोठामा राखिएको देख्दा आफूलाई अप्ठ्यारो महसुस भएको बताउँदै डा. भट्टराईले यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो। एक राजनीतिकर्मी र जनताको प्रतिनिधिका नाताले सद्भाव राखेर आफू भेट्न आएको उहाँले स्पष्ट पार्नुभयो। डा. भट्टराईले यसअघि पनि सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै रविको न्यायको पक्षमा रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो। यो अभियानमा अहिलेसम्म ३२ लाख भन्दा बढीले हस्ताक्षर गरिसकेको रास्वपाले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिनु भएको छ । हाल उहाँ सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा हुनुहुन्छ । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गर्नुभएको छ । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराउनु भएको छ । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा हुनुहुन्छ ।