हाम्रो पेज
विराटनगर , २३ अषाढ । सवारी कारबाही तथा दुर्घटना न्यूनीकरण अभियानलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीलाई ६४ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएका ती मोबाइल फोनहरू सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट ती मोबाइलहरू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी सन्तोष श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। यो प्रविधि हस्तान्तरणसँगै ट्राफिक प्रहरीले अब नागरिक एपमार्फत सञ्चालित ई चलान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सक्नेछ। मोबाइल फोनको प्रयोगले ट्राफिक प्रहरीलाई सेवाग्राहीको सवारी चालक अनुमतिपत्र लाइसेन्समा रहेको क्यूआर कोड स्क्यान गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन सहज हुनेछ। यसका साथै, सार्वजनिक सवारी साधनको डिजिटल टाइम कार्डको प्रयोग र लामो दूरीमा चल्ने सवारीमा चालक परिवर्तन भएरनभएको यकिन गर्न समेत थप सहजता मिल्नेछ। प्रविधिको यो प्रयोगले सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा ट्राफिक व्यवस्थापन प्रणालीलाई थप पारदर्शी र आधुनिक बनाउने विश्वास लिइएको छ। यसले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन र समग्र राजमार्ग सुरक्षालाई सुदृढ पार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।