search logo
NOTIFICATIONS

एनपीएलः विराटनगर किंग्सद्वारा सन्दीप मार्कीमा निरन्तरता, युवा खेलाडीमाथि देखायो विश्वास

हाम्रो पेज

२१ असार २०८२, शनिबार १५:३८
स्टार लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा कायमै।


विराटनगर, अषाढ २१ ।  नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको रौनक सुरु भएसँगै फ्रेन्चाइज टोलीहरू आफ्नो टोली निर्माणमा जुटेका छन्। यसै क्रममा, विराटनगर किंग्सले राष्ट्रिय टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई मार्की खेलाडीको रूपमा निरन्तरता दिँदै आफ्नो रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेको छ। विराटनगर किंग्सले शनिबार सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै आगामी सिजनका लागि आफ्नो रणनीतिको संकेत दिएको हो। टोलीले युवा खेलाडीहरूमाथि ठूलो विश्वास देखाउँदै नयाँ सिजनमा बलियो चुनौती प्रस्तुत गर्ने तयारी गरेको छ। सन्दीपलाई मार्की खेलाडीका रूपमा कायम राख्नुका साथै, विराटनगरले थप पाँच प्रतिभाशाली खेलाडीलाई टोलीमा सुरक्षित गरेको छ। रिटेन हुने खेलाडीमा राष्ट्रिय टोलीका युवा फास्ट बलर प्रतिश जिसी, विस्फोटक ब्याट्सम्यान लोकेश बम, र अलराउन्डर बसिर अहमद रहेका छन्। यसका साथै, यू १९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट र युवा स्पिनर सुवास भण्डारीलाई पनि रिटेन गरेर विराटनगरले आफ्नो भविष्यमुखी योजना स्पष्ट पारेको छ।

एकातर्फ युवा खेलाडीलाई निरन्तरता दिँदा, विराटनगरले ६ जना खेलाडीलाई फुकुवा रिलिज गरेको छ। रिलिज हुनेमा अनुभवी खेलाडीहरू जितेन्द्र मुखिया, राजेश पुलामी मगर, दिपक बोहोरा, मिर्नाल गुरुङ, अनिल खरेल र कमल खत्री रहेका छन्।
रिटेन र रिलिज खेलाडीको पूर्ण सूची
रिटेन गरिएका खेलाडी                                     रिलिज गरिएका खेलाडी
सन्दीप लामिछाने मार्की                                   जितेन्द्र मुखिया
प्रतिश जिसी                                                  राजेश पुलामी मगर
लोकेश बम                                                   दिपक बोहोरा
बसिर अहमद                                               मिर्नाल गुरुङ
नरेन भट्ट                                                     अनिल खरेल
सुवास भण्डारी                                              कमल खत्री
विराटनगर किंग्सको घोषणासँगै एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरू जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोज ले आफ्नो रिटेन र रिलिज सूची सार्वजनिक गरिसकेका छन्। अब सबैको ध्यान नेपाल क्रिकेट संघ क्यान ले आगामी अगस्टमा आयोजना गर्ने खेलाडी अक्सनमा केन्द्रित हुनेछ, जहाँ टोलीहरूले आफ्नो बाँकी स्थान पूर्ति गर्न खेलाडीहरूमाथि बोली लगाउनेछन्।