हाम्रो पेज

काठमाडौं, २५ जेष्ठ । नेपालले सिंगापुरमा भएको एसियाली खेलकुद छनोटको फाइनलमा हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ । वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ दशमलव ३ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १४ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले फेरि एकपटक उत्कृष्ट प्रदर्शनका साथ अर्धशतक बनाए । ४० बलमा ८ चौका र ३ छक्कासहित उनले ६५ रन बनाए । अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भएपछि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। रोहित ३५ र एक सयौं टि ट्वान्टी आई खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहँदा खेल रोकिएको थियो। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको छ। पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएका छ। नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।

हङकङका लागि अंशुमन रथले ८०, सहिद वासिफले ५५, शिव माथुरले २६ रन बनाए । नेपाल र हङकङसहित ओमान र मलेसिया पनि यसै वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्। यी चार टोलीले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकासँगै एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जापान भने आयोजक राष्ट्रको नाताले एसियाडमा छनोट भएको हो । एसियाडमा पुरुष क्रिकेट ४ सेप्टेम्बरदेखि सुरु हुनेछ। फाइनल खेल ३ अक्टोबरमा हुनेछ ।