हाम्रो पेज
एजेन्सी, १ अषाढ I भारतको उत्तराखण्डमा आज बिहानै एक भीषण हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथको धाममा जाँदै गरेका तीर्थयात्रीहरू चढेको हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
यो दुःखद दुर्घटनापछि उत्तराखण्डको पुष्कर सिंह धामी सरकारले चार धाम यात्रामा हेलिकप्टर सेवामा तत्काल रोक लगाउने निर्णय गरेको छ। मुख्यमन्त्री धामीले हालै भएका हेलिकप्टर दुर्घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै राज्यमा हेलिकप्टर सञ्चालनका सम्बन्धमा कडा निर्देशन जारी गर्नुभएको छ । केदारनाथसहित चार धाम यात्राका क्रममा लगातार हेलिकप्टर दुर्घटनाका खबरहरू आइरहेका छन्। यसैलाई मध्यनजर गर्दै नागरिक उड्डयन महानिर्देशनालयले केही समयअघि छानबिन गरेको थियो।
डीजीसीएले आफ्नो जाँच प्रतिवेदनमा हेलिकप्टर रोकिने स्थल हेलिप्याड को अवस्था बसपार्क र रेलवे स्टेसनजस्तो भिडभाड र अव्यवस्थित रहेको उल्लेख गरेको थियो। यही कारण देखाउँदै डीजीसीएले त्यस क्षेत्रमा हुने हेलिकप्टर उडानहरूमा ३५ प्रतिशतले कटौती गर्न आदेश दिएको थियो। जिल्ला पर्यटन विकास अधिकारी तथा हेलि सेवाका नोडल अधिकृत राहुल चौबेका अनुसार, आज बिहान करिब ५ः३० बजे एउटा हेलिकप्टर बेपत्ता भएको जानकारी प्राप्त भएको थियो। जानकारीलगत्तै खोजी कार्य सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, आर्यन एभिएसनको हेलिकप्टरले श्रीकेदारनाथ धामबाट यात्रुहरूलाई लिएर गुप्तकाशीस्थित आफ्नो बेसमा फर्कँदै थियो। सोही क्रममा उपत्यकामा अचानक मौसम खराब भयो। पाइलटले हेलिकप्टरलाई उपत्यकाबाट बाहिर निकाल्ने प्रयास गरे, तर त्यही क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भयो।
हेलिकप्टरमा सवार व्यक्तिहरूको विवरणः
१. क्याप्टेन राजवीर सिंह चौहान – पाइलट, (जयपुर)
२. विक्रम रावत – बीकेटीसी (मन्दिर समिति) कर्मचारी, (रासी, ऊखीमठ)
३. विनोद देवी – यात्रु, (उत्तरप्रदेश, उमेर ६६ वर्ष)
४. तृष्टि सिंह – यात्रु, (उत्तरप्रदेश, उमेर १९ वर्ष)
५. राजकुमार सुरेश जायसवाल – यात्रु, (गुजरात, उमेरः ४१ वर्ष)
६. श्रद्धा राजकुमार जायसवाल – यात्रु, (महाराष्ट्र)
७. काशी – बालिका, उमेरः ०२ वर्ष, (महाराष्ट्र)
भारतीय संचारमाध्यामका अनुशार यो यात्रा सिजनमा केदारनाथमा भएको तेस्रो हेलिकप्टर दुर्घटना हो। यसअघि दुई पटक आपत्कालीन अवतरण गराउनुपरेको थियो भने बद्रीनाथ र गंगोत्रीमा पनि यो सिजनमा दुईवटा दुर्घटना भइसकेका छन्।