search logo
NOTIFICATIONS

नेपालले लगातार दोस्रो पटक जित्यो यू १६ इस्ट जोन कपको उपाधि, सिंगापुरमाथि रोमाञ्चक जित

हाम्रो पेज

२१ असार २०८२, शनिबार १५:१९

विराटनगर,२१ अषाढ। नेपाली युवा टोलीले एसीसी यू १६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। शनिबार मलेसियामा भएको रोमाञ्चक फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो। गत संस्करणमा नेपालले मलेसियालाई हराएर च्याम्पियन बनेको थियो। नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै आधार तयार पारेका थिए भने तल्लो क्रमका ब्याट्सम्यानले धैर्यतापूर्वक खेल्दै अविस्मरणीय जित दिलाए। त्यसअघि, मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर नेपाली बलरसामु निरीह साबित भयो। सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदा अलआउट भयो। सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले घातक बलिङ गरे। दुवैले समान ३-३ विकेट लिए। शुभम खनालले २ विकेट लिए भने विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३ मेडन सहित मात्र १४ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे। सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। कप्तान रियान नायकले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

११४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सहज जित निकाल्ने अनुमान गरिए पनि ब्याटिङमा संघर्ष गर्नुपर्‍यो। नेपालले २९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालको सुरुवात खराब रह्यो। छैटौँ ओभरमा ओपनर शिवांश बजगाईं २० र रौनक श्रीवास्तव लाई ० मा गुमाएपछि नेपाली टोली दबाबमा आएको थियो। मध्यक्रममा प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए पनि नियमित अन्तरालमा विकेट गुम्दा नेपाल ८९ रनमा ८ विकेटको संकटपूर्ण अवस्थामा पुगेको थियो। हारको संघारमा पुगेको नेपालको इनिङ्सलाई नवौं विकेटका लागि जय थापा र अभय यादवले सम्हाले। दुवैले धैर्यता र संयमको उत्कृष्ट नमुना प्रस्तुत गर्दै अविजित २५ रनको महत्वपूर्ण साझेदारी गरे र नेपाललाई उपाधि दिलाए। संकटको घडीमा जयले अविजित २४ रन बनाए भने बलिङमा चम्किएका अभयले अविजित १० रन जोड्दै अलराउन्ड प्रदर्शन गरे।