
काठमाडौं, ४ अषाढ I मनसुनी वायु र न्यूनचापीय क्षेत्रको दोहोरो प्रभावले आज देशभर भारी वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। यसैलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ, जसमध्ये १८ जिल्लामा मध्यम तहको जोखिमको चेतावनी (एल्लो वारेन्ट) जारी गरिएको छ।
विभागका अनुसार, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायु र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले मौसमलाई थप सक्रिय बनाएको छ । दिउँसोको देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, यी चार प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ। राति देशभर साधारणतया बदलीदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
बाढीको जोखिमः ४५ जिल्ला प्रभावित, १८ मा ‘एल्लो वारेन्ट’
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार, नदीनालामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन जरुरी छ । काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, गोरखा, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा लगायत ४५ जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सावधानी अपनाउनु पर्नेछ। महाशाखाले सिन्धुपाल्चोक, संखुवासभा, दोलखा, काभ्रे, मकवानपुर, चितवन, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, नवलपुर ९पूर्व र पश्चिम०, तनहुँ, स्याङ्जा लगायत १८ जिल्लामा मध्यम तहको जोखिम जनाउने ‘एल्लो वारेन्ट’ जारी गरेको छ। हाइड्रोलोजिस्ट विजय धुकुछुका अनुसार, पहेँलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने संकेत गर्छ। ठूला नदीहरूको अवस्थास् आगामी ३ दिन कोसी, कर्णाली, महाकाली जस्ता प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहनेछ। तर, नारायणी नदी र यसका सहायक नदीहरूमा भने जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ। अन्त्यमा, मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेकोले सबैलाई सुरक्षित रहन र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
