search logo
NOTIFICATIONS

देशभरको सार्वजनिक यातायात ठप्प, यात्रुलाई सास्ती

हाम्रो पेज

१९ जेष्ठ २०८२, सोमबार १३:५०
विराटनगर, १९ जेठ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज सोमबार देशभरको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।

समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।

काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी साधन भने सञ्चालनमा छन्। समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको थियो। जसका कारण बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । सडकमा साझा यातायत, निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु मात्र चलेका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई पनि भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै केही दिनअघिदेखि व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गर्दै आएका थिए । आफ्ना मागप्रति वेवास्ता गरिएको भन्दै उनीहरुले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन्। यातायात व्यवसायीले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरेर सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ।
समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधार ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुने गरी राईडर शेयरिङ्को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका पुराना १० वर्षे दुई पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्ग्रे सवारीसाधनलाई भाडाका सवारी सधान सरह प्रयोग गर्ने गरी वैशाख ३१ गते गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी जेठ १ गते सञ्चालन गर्ने गरी नियमावली बनाइ कार्यान्वयन तर्फ अगाडि बढेको हुँदा गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयहरुमा माग पत्रसहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाइ यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको हुँदा यातायात व्यवसायी, मजदुरका समस्या राखी सात बुँदे माग पत्र नेपाल सरकारसमक्ष पेश गरेका छौं ।
गृहमन्त्रीसँग वार्ता सुरु
देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ।

गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशभरको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ। यसअघि गण्डकी प्रदेश सरकारले पनि आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको थियो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत यातायात व्यवसायीका मागका सन्दर्भमा वार्तामा आउन आह्वान गरेको हो । ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएको भएपनि गएका थिएनन् । मन्त्रालयका अनुसार, यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ ।