हाम्रो पेज
विराटनगर, २१ असार I सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङको आयोजनामा सीमाबासीसँग अन्तर्क्रिया तथा सीपमूलक कपाल काट्ने तालिम समापन गरिएको छ ।
“सीमाबासीसँग सशस्त्र प्रहरी” अन्तर्गत अन्तर्क्रिया कार्यक्रममा सीमावर्ती क्षेत्रका बासिन्दाले सीमा सुरक्षासम्बन्धी विभिन्न गुनासा, समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, सीमा पार अपराध न्यूनीकरण, लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार नियन्त्रणकालागि स्थानीय समुदायसँग सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो। साथै कानुनबमोजिम स्थानीयवासीले पाउनुपर्ने सेवा तथा सुविधाको पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो।
यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङद्वारा असार ९ गतेदेखि सञ्चालित सीप तथा आयमूलक हेयर कटिङ तालिम समापन गरिएको छ। तालिममा सहभागी १७ जना सीमाबासी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले कैँची, काइयो, कपडा तथा रेजर मेसिन लगायतका सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रमले सीमावर्ती क्षेत्रका बासिन्दाको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा विराटनगर महानगरपालिका–१५ का वडा अध्यक्ष प्रकाश साह, वडा नं. १६ का वडा अध्यक्ष उद्धव कुमार भुजेल, सञ्चारकर्मी तथा करिब ५० जना स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।