हाम्रो पेज
![]()
विराटनगर, २१ असार । फिफा विश्वकप २०२६ को अन्तिम १६ का खेलहरू सकिँदै गर्दा क्वार्टरफाइनलको सबैभन्दा आकर्षक भिडन्त तय भएको छ। अफ्रिकी शक्ति मोरक्को र दुई पटकको विश्वविजेता फ्रान्स अब सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुनेछन्। सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को अन्तिम आठमा पुगेको हो भने साविक उपविजेता फ्रान्सले पाराग्वेमाथि कठिन १–० को जित निकाल्दै आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ। चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग २–० ले पराजित भएको मोरक्कोसामु यसपटक इतिहास दोहोर्याउने होइन, इतिहास सच्याउने अवसर छ। त्यसैले बोस्टनमा हुने क्वार्टरफाइनललाई केवल अन्तिम चारको टिकटका रूपमा मात्र नभई मोरक्कोका लागि पुरानो घाउ निको पार्ने अवसरका रूपमा पनि हेरिएको छ।
ओनाही चम्किए, मोरक्कोको प्रभावशाली प्रदर्शन
ह्युस्टनमा भएको खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दियो। अजेदिन ओनाही खेलका नायक बने। उनले दुई गोल गरे भने सुफियान राहिमीले इन्जुरी समयमा अर्को गोल थपे।
खेलको सुरुआती २० मिनेट भने मोरक्कोका लागि सहज थिएन। घरेलु समर्थकको साथ पाएको क्यानडाले लगातार दबाब सिर्जना गर्दै गोल गर्ने अवसर बनाएको थियो। मोरक्कोका गोलरक्षक यासिन बोनुले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए। त्यसमाथि स्टार फरवार्ड इस्माइल साइबारी चोटका कारण २२औँ मिनेटमै मैदान छाड्न बाध्य हुँदा मोरक्को थप दबाबमा परेको थियो। तर दोस्रो हाफ सुरु भएसँगै खेलको चित्र नै बदलियो। अचरफ हाकिमीको उत्कृष्ट पासमा ओनाहीले पहिलो गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि ब्राहिम डियाजको सहयोगमा तीव्र काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै उनले व्यक्तिगत दोस्रो गोल गरे। इन्जुरी समयको अन्तिम मिनेटमा राहिमीले अर्को काउन्टर अट्याकलाई सफल बनाउँदै ३–० को सहज जित सुनिश्चित गरे। क्यानडाले गोलतर्फ बढी प्रहार गरे पनि फिनिसिङ कमजोर रहँदा गोल गर्न सकेन। उल्टो, बल नियन्त्रण, काउन्टर अट्याक र अवसरको सदुपयोगमा मोरक्को निकै परिपक्व देखियो। यही कारण अफ्रिकी टोली लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनल पुग्न सफल भयो।
कालो घोडा होइन, अब विश्व फुटबलको स्थायी शक्ति
सन् २०२२ मा सेमिफाइनल पुगेर विश्व फुटबललाई चकित पारेको मोरक्कोलाई त्यसबेला धेरैले ुकालो घोडाुको संज्ञा दिएका थिए। तर २०२६ मा पनि उत्कृष्ट प्रदर्शन दोहोर्याएपछि अब त्यो सफलता संयोग मात्र थिएन भन्ने प्रमाणित भएको छ। हाइटीविरुद्ध संयमित जित, स्कटल्याण्डमाथिको प्रभावशाली प्रदर्शन, नेदरल्यान्ड्सविरुद्ध पुनरागमन र अहिले क्यानडामाथिको सहज विजयले मोरक्को जुनसुकै शैलीमा जित निकाल्न सक्ने टोलीका रूपमा स्थापित भएको देखाएको छ। मौसम, स्थान वा विपक्षीको स्तरले उसको प्रदर्शनमा खासै असर नपरेको देखिन्छ। रक्षात्मक संगठन, तीव्र काउन्टर अट्याक र सामूहिक अनुशासन अहिले मोरक्कोको सबैभन्दा ठूलो बल बनेको छ। जितपछि प्रशिक्षक मोहम्मद ओआहबीले दोस्रो हाफमा टोलीले उत्कृष्ट प्रतिक्रिया दिएको बताए। उनका अनुसार क्यानडा निकै बलियो टोली भए पनि खेलमा देखिएको खाली स्थानको सही उपयोग गर्न सकेकाले मोरक्को विजयी बन्न सफल भयो। यता हारपछि क्यानडाका प्रशिक्षक जेसी मार्शले टोलीले पहिलो हाफमा धेरै अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्नु नै हारको मुख्य कारण भएको स्वीकार गरे। यद्यपि उनले पहिलो पटक नकआउट चरणसम्म पुग्नु क्यानडाली फुटबलका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
एम्बाप्पेको निर्णायक गोल, फ्रान्सको कठिन परीक्षा
अर्कोतर्फ फिलाडेल्फियामा भएको अर्को अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्यो। खेल अत्यन्त प्रतिस्पर्धात्मक रह्यो। दक्षिण अमेरिकी टोली पाराग्वेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै फ्रान्सलाई लामो समयसम्म गोलरहित राखेको थियो। पहिलो हाफमा कुनै पनि टोलीले गोलको दिशामा प्रभावकारी प्रहार गर्न सकेन। तर दोस्रो हाफमा फ्रान्सले दबाब बढायो। खेलको ६८औँ मिनेटमा भिडियो सहायक रेफ्रीको समीक्षा पछि फ्रान्सले पेनाल्टी पायो। दुई मिनेटपछि कप्तान केलियन एम्बाप्पेले कुनै गल्ती नगरी बललाई जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए। त्यही गोल खेलको निर्णायक बन्यो। पाराग्वेले त्यसपछि पनि बराबरी गोलका लागि प्रयास गरिरह्यो। गोलरक्षक ओर्लान्डो गिलले एम्बाप्पेको अर्को उत्कृष्ट अवसर रोके पनि टोली हारबाट जोगिन सकेन। फ्रान्सले निकै कठिन संघर्षपछि मात्र क्वार्टरफाइनलको यात्रा तय गर्यो।
गोल्डेन बुटको दौड झन् रोचक
पाराग्वेविरुद्धको गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको पनि समान सात गोल रहेकाले दुवै संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा छन्। तर एम्बाप्पेका दुई असिस्ट भएकाले गोल्डेन बुटको दौडमा उनी प्राविधिक रूपमा अगाडि छन्। विश्वकप करियरमा एम्बाप्पेको कुल गोल संख्या १९ पुगेको छ, जुन मेस्सीको २० गोलभन्दा केवल एक कम हो। अझ २७ वर्षमै यस्तो उपलब्धि हासिल गरेका एम्बाप्पेसँग आगामी वर्षहरूमा थुप्रै विश्वकप कीर्तिमान आफ्नो नाममा पार्ने अवसर अझै बाँकी छ। सर्वाधिक गोलकर्ताको दौडमा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका ह्यारी केन समान पाँच गोलसहित पछ्याइरहेका छन् भने ओसमान डेम्बेले, मिकेल ओयारजाबाल, भिनिसियस जुनियर र इस्माइला सार चार–चार गोलसहित प्रतिस्पर्धामा छन्।
अब सबैको नजर फ्रान्स–मोरक्को भिडन्तमा
विश्व फुटबलको अनुभव, इतिहास र उपाधिका हिसाबले फ्रान्स स्पष्ट रूपमा बलियो टोली हो। दुई पटक विश्वकप जितिसकेको फ्रान्सले १९९८ र २०१८ मा उपाधि जितेको थियो भने २००६ र २०२२ मा उपविजेतामा सीमित भएको थियो।
मोरक्कोले भने विश्वकप उपाधि जित्न सकेको छैन। तर सन् २०२२ मा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेर इतिहास रचिसकेको टोली अहिले त्यो सफलतालाई संयोग होइन भन्ने प्रमाणित गरिरहेको छ।
दुवै टोलीबीच भएका विगतका करिब १२ भेटमध्ये फ्रान्सले सात खेल जितेको छ भने मोरक्कोले एक मात्र जित निकालेको छ। बाँकी चार खेल बराबरीमा सकिएका छन्। विश्वकपमा भने उनीहरू दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसपटकको मोरक्को चार वर्षअघिको भन्दा अझ परिपक्व, आत्मविश्वासी र विविध शैलीमा खेल्न सक्ने टोलीका रूपमा विकसित भएको छ। उता फ्रान्ससँग एम्बाप्पे जस्ता खेलाडीको व्यक्तिगत क्षमता, ठूला प्रतियोगिताको अनुभव र निर्णायक क्षणमा नतिजा निकाल्ने सामर्थ्य छ।
त्यसैले बोस्टनमा हुने यो क्वार्टरफाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, अनुभव र उत्साह, इतिहास र नयाँ सम्भावना तथा पुरानो बदला र नयाँ सपनाबीचको भिडन्त हुनेछ। यदि मोरक्कोले फ्रान्सलाई हराउन सफल भयो भने उसले लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुगेर विश्व फुटबलमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ। तर फ्रान्स विजयी बनेमा उसले लगातार अर्को उपाधि यात्रालाई थप बलियो बनाउँदै विश्व फुटबलको महाशक्तिका रूपमा आफ्नो प्रभुत्व कायम राख्नेछ। यसैले विश्वकप २०२६ को क्वार्टरफाइनलका सबै खेलमध्ये फ्रान्स र मोरक्कोबीचको यो भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक, भावनात्मक र उच्चस्तरीय प्रतिस्पर्धाका रूपमा हेरिएको छ।