सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा चारजना पत्रकार पुरस्कृत
हाम्रो पेज
२७ असार २०८२, शुक्रबार २१:४१
बाँयाबाट क्रमश: सुवास ढकाल, बन्धु पोखरेल, अनिल श्रेष्ठ र रोमा दाहाल (निशा)
विराटनगर, २७ अषाढ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आज एक कार्यक्रममको आयोजना गर्दै सहकारीले पुरस्कार प्रदान गरेको हो । सो अवसरमा ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गरिएको छ । यस्तै ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार एवम् पूर्वअध्यक्ष बन्धु पोखरेललाई प्रदान गरिएको छ । पोखरेल विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका प्रबन्ध निर्देशक हुन् । यो पुरस्कार समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा स्थापना गर्नुभएको हो । त्यसैगरी २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गरियो । १० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार कोशी सन्देस डटकम अनलाइनकी डेस्क सम्पादक रोमा दाहाल (निशा) लाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायधीस राजनप्रसाद भट्टराईले सम्मानित तथा पुरस्कृत पत्रकारहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो । सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी, वर्तमान अध्यक्ष दीपक दाहाल र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला र माला लगाएर सम्मान गर्नुभएको थियो ।