हाम्रो पेज
विराटनगर, २८ जेठ I आगामी बर्ष हुने २३ औं संस्करणको फिफा विश्वकप फुटवलको रौनक विश्वभर सुरु भइसकेको छ। सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगितामा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्ने भएकाले विशेष महत्वको बनेको छ।
हालसम्म १३ टोलीले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी स्थानका लागि प्रतिस्पर्धा जारी छ। आयोजक टोलीहरू क्यानडा, मेक्सिको र अमेरिका – तीनै देशले आयोजकको हैसियतले स्वतः विश्वकपमा स्थान पाएका छन्। अष्ट्रेलिया मंगलबार राति सम्पन्न खेलमा साउदी अरेबियालाई २–१ गोल अन्तरले हराउँदै विश्वकपमा छनोट भएको छ । यस्तै ब्राजिल बुधबार बिहान पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो। भिनिसियस जुनियरले खेलको ४४ औं मिनेटमा गरेको निर्णायक गोल ब्राजिललाई २३ औं पटक विश्वकपमा पुर्यायो।
यस्तै एसियाबाट जापान, इरान, उज्बेकिस्तान, दक्षिण कोरिया र जोर्डन पहिलोपटक विश्वकपमा सहभागी हुँदैछन् । ओसियानाबाट न्युजिल्यान्ड, दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनोट भइसकेको छ भने युरोपबाट १६ टोली छनोट हुनेछन्। सन् १९३० मा सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल मात्र सबै संस्करणमा सहभागी भएको एक्लो टोली हो । ब्राजिलले २२ पटक विश्वकप खेल्दा सर्वाधिक पाँच पटक उपाधि जितेको छ।
विश्वकपमा हालसम्म आठवटा देश बिजेता बनेका छन् । उपाधि जित्ने देशको नाम:
ब्राजिल ५ पटक
जर्मनी ४ पटक
इटाली ४ पटक
अर्जेन्टिना ३ पटक
उरुग्वे २ पटक
इंग्ल्यान्ड १ पटक
स्पेन १ पटक
यो संस्करणदेखि विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ गरिने योजना छ, जसले विश्वभरिका फुटबल प्रेमीलाई अझ व्यापक सहभागिता र रोमाञ्चक प्रतिस्पर्धा प्रदान गर्नेछ।
छनोट प्रक्रिया र वितरण
एशियाबाट ८ टोली
अफ्रिकाबाट ९ टोली
उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रबाट ६ टोली (आयोजकहरू सहित)
ओसियानाबाट १ टोली
युरोपबाट १६ टोली
बाँकी ६ टोली प्ले अफबाट छनोट हुनेछन् ।