
विराटनगर, १२ जेष्ठ । कोशी प्रदेश अन्तर्गतका सुनसरी, झापा लगायत जिल्लामा सोमबार साँझ आएको भीषण हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएको छ। हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घर, उद्योग तथा कुखुरा फार्ममा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुहबी नगरपालिका–४ मा हावाहुरीले उडाएर ल्याएको टिनले मोटरसाइकलमा सवार स्थानीय मोहम्मद जाहिदलाई लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यस्तै गौरादह नगरपालिका–७ मा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। हावाहुरीका कारण फार्ममा रहेका ब्रोइलर कुखुरा मरेका प्रहरीले जनाएको छ। गौरादह–६ मा दुई वटा घरको छाना उडेको छ भने हल्दीबारी गाउँपालिका–२ मा तीन वटा घरमा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार त्यहाँ करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हावाहुरीले दमक नगरपालिका–१० स्थित गरिमा इँटा भट्टाको भवनको टिनको छाना उडाएको छ। त्यस्तै मेचीनगर–१५ मा रहेको जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदाम तथा मेसमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। मेचीनगर–८ स्थित सूर्योदय कम्पनीको पार्किङ भवनको छाना उडेर दुई वटा बसमा समेत क्षति पुगेको छ। हावाहुरीका कारण झापाका विभिन्न स्थानमा बिजुलीका पोल ढलेका छन् भने धेरै घरका छाना उडेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा र जनजीवन समेत प्रभावित बनेको छ।