हाम्रो पेज
विराटनगर ६ श्रावण । प्रतिबन्धबाट फर्किएकी स्टार स्ट्राइकर मोसमत सागोरिकाको अविश्वसनीय प्रदर्शनमा बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि रक्षा गरेको छ। सोमबार भएको फाइनलमा नेपाललाई ४–० को फराकिलो अन्तरले स्तब्ध बनाउँदै बङ्गलादेशले पाँचौं पटक उपाधि उचालेको हो। यो हारसँगै नेपालको उपाधि सपना फेरि एकपटक अधुरै रह्यो र टोली तेस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो। नेपाली टोली उपाधिबाट चुके पनि स्ट्राइकर पूर्णिमा राईले प्रतियोगितामा आफ्नो व्यक्तिगत छाप छोड्न सफल भइन्। उनले ६ खेलमा सर्वाधिक १० गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन्। भुटानविरुद्ध लगातार दुई ह्याट्रिक र श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर उनले यो उपलब्धि हासिल गरेकी हुन्। योसँगै पूर्णिमाले सन् २०१८ मा बंगलादेशकी मोसमत सिरात जहान शोपनाले बनाएको ८ गोलको कीर्तिमानलाई ७ वर्षपछि तोड्दै साफ इतिहासमा आफ्नो नाम सुरक्षित गरेकी छन्। फाइनल खेल सागोरिकाको पुनरागमन र बदलाको कथा बन्यो।

यसअघि नेपालसँगको खेलमा डिफेन्डर सिम्रन राईसँग मैदानमै हात हालाहाल भएपछि उनी तीन खेलको प्रतिबन्ध र जरिवानामा परेकी थिइन्। प्रतिबन्ध फुकुवा भएर निर्णायक खेलमा फर्किएकी उनले सुरुदेखि नै नेपाली रक्षापंक्तिमाथि धावा बोलिन्। खेलको आठौं मिनेटमै उनले गोलकिपर सुजता तामाङलाई बिट गर्दै खाता खोलिन्। दोस्रो हाफमा झनै आक्रामक देखिएकी उनले ५२औं र ५८औं मिनेटमा लगातार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। खेलको ७८औं मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै उनले बंगलादेशको जित सुनिश्चित गरिन् र फाइनललाई अविस्मरणीय बनाइन्। प्रतियोगितामा बङ्गलादेश अपराजित रह्यो। उसले ६ खेलमा सबै जितेर १८ अङ्कका साथ उपाधि जित्यो भने ६ खेलमा ४ जित र २ हार बेहोरेको नेपाल १२ अङ्कसहित दोस्रो स्थानमा रह्यो। नेपाल यसअघि सन् २०१८ र २०२३ मा पनि फाइनलमा बङ्गलादेशसँग नै पराजित हुँदै उपाधिबाट चुकेको थियो। हालसम्म यो प्रतियोगिताको उपाधि बङ्गलादेश ५ पटक र भारत २ पटकले मात्र जितेका छन्।
