हाम्रो पेज
काठमाडौं, १२ फाल्गुन ।सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। योसँगै निर्वाचनको बेलामा एक सातासम्म बिदा हुने भएको छ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलरबराबरको नगद अनुदान स्वीकार गर्नेलगायतका सात निर्णय गरेको हो । यस्तै बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ । काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौको अध्यक्ष तोक्ने मन्त्रिपरिषद्को अर्को निर्णय छ । यस्तै बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ । यस्तै आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्को सातौँ निर्णय जेनजी परिषद गठन गर्ने सम्बन्धको छ ।