search logo
NOTIFICATIONS

कोशी प्रदेशसभाको बर्खे अधिवेशन माघ २५ गतेबाट वीरेन्द्र सभागृहमा बस्ने

हाम्रो पेज

१५ माघ २०८२, बिहीबार १६:०१

विराटनगर, १४ माघ । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन यही माघ २५ गतेबाट बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । माघ २५ गतेबाट सुरु हुने गरी बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएर ध्वस्त पारिएपछि सचिवालय कटहरीस्थित कृषि भवनमा सारिएको छ । सोही भवनमा प्रदेशसभा बैठक राख्ने सरकारले बताउँदै आएको भए पनि अहिलेसम्म संरचना निर्माण नगरेकोले वीरेन्द्र सभागृहमा बैठक बस्ने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृह जेनजी आन्दोलनको क्रममा सुरक्षित रहेको थियो । सोही सभागृहमा प्रदेशसभा बैठक राख्ने निर्णय भएको उहाँले बताउनुभयो । तर कोशी प्रदेश सरकारले विराटनगर महानगरपालिकासँग कुनै औपचारिक सम्झौता भने गरेको छैन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेसँगै हलको विषयमा नयाँ विवाद देखिएको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मासिक ८ लाख रुपैयाँ महानगरपालिकालाई भुक्तानी गर्ने गरी सभागृह सञ्चालन गर्न सम्झौता भएको दाबी गर्नभएको छ । तर, विराटनगर महानगरपालिकाले भने यस्तो कुनै सम्झौता भइनसकेको बताएको छ । महानगरले सभागृह सञ्चालनका लागि प्रतिदिन न्यूनतम ७० हजार रुपैयाँ शुल्क तोकेको छ । सोभन्दा कम शुल्कमा हल उपलब्ध गराउन महानगरको कार्यपालिकाबाटै निर्णय हुनुपर्ने प्रावधान छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत सामाजिक सञ्जालमार्फत माघ २५ गतेको बैठक सभागृहमा बस्ने सार्वजनिक जानकारी दिनु भएको छ ।