बडादशैंको मुख्य दिन आज टीका, उत्तम साईत ११ बजेर ५३ मिनेटमा

हाम्रो पेज

१६ आश्विन २०८२, बिहीबार ०७:००
विराटनगर, १६ अशोज । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज विजयादशमी । बडादसैंको दशौं दिन आज मान्यजनबाट टीका थापेर र आफन्तजनसँग हार्दिकता बाडेर मनाईंदैछ ।

टीका थाप्ने क्रममा घटस्थापनाका दिन रोपिएको समृद्धिको प्रतिक जमरा आजकादिन आर्शिबादसँगै शिरमा लगाउने चलन छ । घटस्थापनाको दिन विधिपुर्वक राखिएको जमरा बडादशैंको दिन टिपेर टीकाका साथ लगाउने गरिन्छ ।

यसपटकको दशैंको टिका लगाउने साईत आज बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । यद्यपी सो समयपछि पनि दिनभर नै राम्रो साईत रहेको समितिले जनाएको छ । दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाईदिने व्यक्ति पश्चिम फर्कनुपर्ने हुन्छ ।

धार्मिक दृष्टिकोणले दैत्य महिशासुरहरुको अत्यचार सहन नसकी दुर्गा भवानीले कालीको रुप धारण गरेर उनिहरुलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजया दशमीमा रातो टीका र पहेंलो जमरा लगाइएको पौराणिक मान्यता छ । मान्यजनले टीका लगाइदिदा सुख, शान्ति, समद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

दशमीको दिन टिका लगाउन सम्भव नहुनेहरु कोजाग्रत पुर्णिमाको दिनसम्म आ–आफ्ना मान्यजनहरुकामा गएर टीका र जमरा थापी आशिर्वाद लिने गर्दछन् । दशैं पर्व १५ दिनसम्म मनाइने भएकोले विजया दशमीपछि पनि पुर्णिमासम्म उत्तिकै हर्षोल्लासपुर्वक यो पर्व मनाउने गरिएको छ ।