search logo
NOTIFICATIONS

नवरात्रको नवौं दिन आज महानवमी, सिद्धिदात्री देवीको पूजा गरिंदै

हाम्रो पेज

१५ आश्विन २०८२, बुधबार ०७:२६
विराटनगर, १५ अशोज । नवरात्र एवम् बडादशैंको नवौं दिन आज महानवमी । आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

नवरात्रको अन्तिम दिन आजपनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकदिन महानवमीमा मात्र खुल्ने गर्दछ ।