झुम्का कारागारमा अज्ञात रोगले तीन कैदीको मृत्यु, स्वास्थ्य शिविर सञ्चालन

हाम्रो पेज

१९ भाद्र २०८२, बिहीबार १३:३९

सुनसरी, १९ भाद्र । सुनसरीको झुम्का कारागारमा फैलिएको अज्ञात रोगका कारण चार दिनभित्रै तीन कैदीको मृत्यु भएको छ। उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणसहित फैलिएको यो बिमारीले कारागारभित्र त्रासको वातावरण सिर्जना गरेको छ। पछिल्लो पटक, बुधबार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ। स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि सोमबार पनि दुई कैदीको मृत्यु भइसकेको थियो। मृत्यु हुनेहरूमा सुनसरी गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव कर्तव्य ज्यान मुद्दाका कैदी र धरान १० का २४ वर्षीय सागर राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो भने राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएको थियो। दुवैको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो। लगातार तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल कदम चालेको छ। बुधबार रातिदेखि कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाका अनुसार दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको र रिपोर्ट आएपछि बिरामीको कारण स्पष्ट हुने उहाँले बताउनुभयो। हाल झुम्का कारागारका दुई ब्लकमा १ हजार ७९४ जना कैदीबन्दी रहेका छन्।