हाम्रो पेज
जनताले जितेर प्राप्त गरेको गणतन्त्रको यही शुभ दिनमा, “सत्यको आधार, निष्पक्ष समाचार“ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी हाम्रो मिडिया नेटवर्क प्रा. लि. विराटनगरद्वारा सञ्चालित हाम्रो पेज डट कम अनलाइन पोर्टलको औपचारिक शुभारम्भ गरेको घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित छौं। राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको माध्यमबाट बिकृति, विसंगतिलाई अन्त्य गर्दै सुशासनका लागि खबरदारी गर्ने र एउटा सभ्य समाज निर्माण गर्ने कार्यमा हाम्रो कलम एक इन्च पनि तलमाथि नहुने प्रतिवद्धता व्यक्त गर्दछौं I
गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ र सूचनाको हक त्यो सार्वभौमिकताको एक महत्त्वपूर्ण आधारस्तम्भ हो। हामी यही मान्यतालाई शिरोधार्य गर्दै आम पाठकहरूसम्म सत्यतथ्य, सन्तुलित र निष्पक्ष समाचार सामग्री पुर्याउने दृढ संकल्पका साथ पत्रकारिताको यो यात्रामा होमिएका छौं। घटनाको गहिराइसम्म पुग्ने, विभिन्न पक्षका दबिएका आवाजहरूलाई मुखरित गर्दै आवाज बिहीनहरुको आवाज बनेर समाजमा व्याप्त भ्रम तथा अफवाहबाट माथि उठेर यथार्थ चित्रण गर्ने हाम्रो प्रयास रहनेछ।
थुप्रै संचारमाध्यमको यो भिडमा हाम्रो पत्रकारिता व्यावसायिक निष्ठा, जवाफदेहिता र सामाजिक उत्तरदायित्वप्रति पूर्ण समर्पित रहनेछ। हामी कुनै पनि प्रकारको आग्रह–पूर्वाग्रहबाट मुक्त रही, विशुद्ध पत्रकारिताको धर्म निर्वाह गर्ने प्रण गर्दछौं। यो यात्रामा तपाईं पाठकहरूको विश्वास, माया र निरन्तर साथ र हौसला हाम्रो सबैभन्दा ठूलो ऊर्जा र प्रेरणाको स्रोत हुनेछ। तपाईंहरूको रचनात्मक सुझाव र प्रतिक्रियाले हामीलाई अझ परिष्कृत र जिम्मेवार बन्न मार्गदर्शन गर्नेछ भन्ने हाम्रो विश्वास छ।
आजको यो विशेष दिनमा, हामी पुनः एकपटक सत्य र निष्पक्षताको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै, तपाईंहरू सबैको निरन्तर सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दछौं। जय देश, जय पत्रकारिता I धन्यवाद I