इरान इजरायल युद्धः इजरायलमा मिसाइल हमलामा १२ घाइते, विराटनगरका मेयर बंकरमा लुक्न बाध्य

हाम्रो पेज

२ असार २०८२, सोमबार १५:२०
विराटनगर, २ अषाढ I इरानले इजरायलमाथि गरेको भीषण मिसाइल हमलामा परी कम्तिमा १२ जना घाइते भएका छन्, जसले मध्यपूर्वको तनावलाई थप चर्काएको छ। इजरायलको आपत्कालिन सेवा मेगन डेभिड एडोमले आज बिहान भएको क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएको पुष्टि गरेको हो। सामाजिक सञ्जाल ‘एक्स’मार्फत तेल अभिभमा घाइतेहरूको उद्धार गरी अस्पताल पुऱ्याइएको र खोजी कार्य जारी रहेको जनाएको छ। इजरायलको सार्वजनिक प्रसारक ‘कान’का अनुसार, तेल अभिभबाट करिब ९० किलोमिटर टाढा रहेको प्रमुख बन्दरगाह सहर हाइफामा भएको आक्रमणमा पनि धेरै मानिस घाइते भएका छन्। इजरायल रक्षा बल ले इरानले सोमबार बिहान इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ।

यसैबीच, इजरायल भ्रमणमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला समेत युद्धको चपेटामा पर्नुभएको छ । उहाँसहितको अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल साइरन बजेपछि बंकरमा लुकेर बस्न बाध्य भएको छ।

विराटनगर महानगरपालिकाका मेयर बंकरमा
इजरायलको सहकारी अभ्यास अध्ययन गर्न त्यहाँ पुग्नुभएका विराटनगरका मेयर नागेश कोइराला युद्धको चपेटामा पर्नुभएको छ। इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले सुरु गरेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधिहरू बंकरमा बस्न बाध्य भएका हुन्।

मेयर कोइरालाले आफू राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढाको सेफाइम सहरमा सुरक्षित रहेको र इजरायल सरकारले नै बंकरमा राखेको जानकारी दिनुभएको छ। टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि पनि छन् । खतराको संकेतस्वरूप साइरन बजेपछि बंकरमा बस्नुपर्ने नियम रहेको मेयर कोइरालाले जानकारी दिनुभएको छ । मेयर कोइरालाको अषाढ ६ गते नेपाल फर्कने तालिका रहेपनि इजरायलमा आपत्काल लागू गरी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएकाले फर्कने मिति अनिश्चित बनेको छ। इजरायलले गरेको हमलाको जवाफमा इरानले शुक्रबारदेखि जेरुसेलम र तेल अभिभलगायतका क्षेत्रमा लगातार मिसाइल र रकेट प्रहार गरिरहेको छ, जसले पूरै क्षेत्रमा उच्च तनावको स्थिति सिर्जना गरेको छ।