NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं , ७ श्रावण। नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकको दोस्रो दिन मंगलबार मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पार्नभयो । साथै, बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सहज हुने गरी विधानका केही प्रावधानहरू परिमार्जन गर्ने प्रस्तावलाई अघि बढाएको छ। बैठकले पूर्वराष्ट्रपति जस्तो गरिमामय पदमा आसिन भइसकेको व्यक्ति दलीय राजनीतिको सक्रिय भूमिकामा रहनु स्थापित मूल्यमान्यता, संवैधानिक मर्म र राष्ट्रिय प्रतिष्ठाको भावनाविपरीत हुने निष्कर्ष निकालेको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पूर्वराष्ट्रपति राष्ट्रको अध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र देशको अभिभावक हुनुहुन्छ। यस्तो सम्मानित व्यक्तित्व कुनै राजनीतिक दलको कार्यकर्ता वा नेता बन्नु शोभनीय हुँदैन। यो निर्णयले भविष्यका लागि पनि एउटा सकारात्मक नजिर स्थापित गर्नेछ।अध्यक्ष ओलीले बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको समेत स्पष्ट पार्नुभयो। उहाँले भण्डारी अब ुकमरेडु नभई ुसम्माननीय पूर्वराष्ट्रपतिु का रूपमा राष्ट्रिय गौरव र अभिभावकको भूमिकामा रहनुपर्ने बताउनुभयो। पार्टीले उहाँप्रति सधैँ उच्च सम्मान कायम राख्ने कुरामा जोड दिइयो। यद्यपि, बैठकमा नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले उक्त निर्णयप्रति आफ्नो असहमति व्यक्त गर्नुभएको थियो। केन्द्रीय कमिटी बैठकले पार्टी नेतृत्वमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमालाई हटाउन विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय गरेको छ। प्रचार विभाग प्रमुख गौतमका अनुसार, यी प्रावधानहरू विशेषतः अध्यक्ष ओलीलाई आगामी ११औँ महाधिवेशनमा रोक्ने उद्देश्यले मात्र प्रेरित देखिएकाले पार्टीले उहाँलाई प्रतिस्पर्धाबाट रोक्न नचाहेको हो। यो प्रस्ताव भदौमा हुने विधान महाधिवेशनबाट पारित भएपछि औपचारिक रूपमा लागू हुनेछ। दुई दिनसम्म चलेको बैठकले अन्य महत्त्वपूर्ण साङ्गठनिक विषयमा पनि निर्णय लिएको छ । पार्टीमा पहिलेकै जस्तो दुई तहको ९साधारण र सङ्गठित० सदस्यता प्रणाली पुनःस्थापित गरिने, पार्टीका कमिटीहरूलाई चुस्त बनाउन केन्द्रीय कमिटी २५१ सदस्यीय, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ र पदाधिकारी सङ्ख्या १५ जनामा सीमित गर्ने प्रस्ताव गरिएको छ। यी प्रस्तावहरूलाई अन्तिम रूप दिनुअघि तल्ला कमिटीहरूमा छलफलका लागि पठाइनेछ र त्यहाँबाट आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ। करिब १२ घण्टा लामो दोस्रो दिनको बैठकपछि मध्यरातमा २६४ केन्द्रीय सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो। यी निर्णयहरूसँगै नेकपा एमालेले आफ्नो आगामी राजनीतिक र साङ्गठनिक दिशा स्पष्ट पारेको छ।