हाम्रो पेज
एजेन्सी, २९ जेठ I भारतको अहमदाबादमा आज भएको एयर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा सवार दुईसय ४१ जनाको मृत्यु भएको छ । यद्यपि, चामत्कारिक रूपमा एक यात्रु भने जीवितै भेटिएका छन् ।
दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वासकुमार रमेश रहेको बुझिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ। उनी सिट नम्बर ११ ए मा यात्रा गरिरहेका थिए। भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए । यो जानकारी अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले भारतीय संचारमाध्यामहरुलाई दिनुभएको हो।अहमदाबादबाट बेलायतको राजधानी लण्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार, बाँकी शवहरुलाई पोस्टमार्टमका लागि पठाइएको छ । भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित दुईसय ४२ यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इण्डियाले जनाएको छ ।