५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, २४ भन्दा बढी जिल्ला बाढीको उच्च जोखिममा, कालीगण्डकी करिडोर अवरुद्ध

हाम्रो पेज

२७ असार २०८२, शुक्रबार ११:५०

विराटनगर २७ अषाढ । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भागमा मनसुन सक्रिय रहने जनाउँदै कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ। भारी वर्षाका कारण विशेषगरी पहाडी जिल्लाहरूमा आकस्मिक बाढी र पहिरोको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित २४ भन्दा बढी जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्चदेखि मध्यम जोखिम रहेको औंल्याउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको हो। यसको प्रभावले आज दिनभर देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। दिउँसो वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मधेस, वाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ।


यस्तै बाढी पूर्वानुमान महाशाखाले ठूला नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली आदि को बहाब हाल सतर्कता तहभन्दा तलै रहेको जनाए पनि छोटो समयमा हुने भारी वर्षाले साना नदीहरूमा निम्त्याउन सक्ने खतराप्रति सचेत गराएको छ। महाशाखाको बुलेटिनअनुसार बारा, रौतहट
काठमाडौँ, ललितपुर, भक्तपुर ,दोलखा, सिन्धुपाल्चोक, मकवानपुर ,गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम भएर बहने साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ । यस्तै संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, लमजुङ, म्याग्दी, बागलुङ
रोल्पा, प्युठान, जाजरकोट, कालिकोटमा आकस्मिक बाढीको उच्च मध्यम जोखिम रहेको छ । सम्भावित प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई विशेष आग्रह गरेको छ । भारी वर्षाले बाढी, पहिरो, गेग्रान बहाव र तराई तथा सहरी क्षेत्रमा डुबानको जोखिम उच्च छ। नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्नेहरूले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीमा रहन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ। यसैबीच पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका(६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमाथिबाट ठूलो चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको प्रहरीले जनाएको छ ।