हाम्रो पेज

काठमाडौं,अषाढ १८ । अवैध क्रिप्टोकरेन्सी कारोबार र अनलाइनमार्फत संगठित ठगीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी युवराज खड्काका अनुसार, ललितपुर महानगरपालिका ४, दमकल चोकस्थित एक घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ६ जना चिनियाँ नागरिक र ४६ जना नेपाली युवायुवती रहेका छन्। उक्त गिरोहले ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रा. लि. ’ नामक कम्पनी दर्ता गरी अवैध कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले ‘मेटो’ नामक डेटिङ एप प्रयोग गरी नेपाली युवायुवतीमार्फत अनलाइन ठगी (स्क्याम) गर्ने गरेको पाइएको छ। प्रहरीले काठमाडौंको चागलमा रहेको उनीहरूको अर्को कार्यालयमा समेत छापा मारी ठगीमा प्रयोग भएका विभिन्न विद्युतीय उपकरणहरू बरामद गरेको छ। साथै, आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ नगद पनि बरामद गरिएको एसपी खड्काले जानकारी दिनुभयो।
पक्राउ परेकामध्ये मुख्य योजनाकार मानिएका ६ जना चिनियाँ नागरिकलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ भने अन्य ४६ जनालाई आवश्यक परेका बेला उपस्थित हुने गरी हिरासत बाहिर राखिएको सीआईबीले जनाएको छ।