search logo
NOTIFICATIONS

मोरङको सुन्दरहरैंचामा माछा मार्न खोलामा करेन्ट प्रवाह गर्दा दम्पतीको मृत्यु

हाम्रो पेज

३१ जेष्ठ २०८२, शनिबार २३:१०
विराटनगर, ३१ जेठ I मोरङको सुन्दरहरैंचामा करेन्ट लगाएर माछा मार्ने प्रयास गर्दा एक दम्पतीको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–७ स्थित मदेली खोलामा अवैधानिक रूपमा विद्युत् प्रवाह गर्ने क्रममा करेन्ट लागेर उनीहरूको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, लिम्बू दम्पतीले नजिकैको बिजुलीको पोलबाट हुक गरी तार जोडेर खोलामा माछा मार्नका लागि करेन्ट प्रवाह गरेका थिए। सोही क्रममा अचानक करेन्टको झट्का लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बिहान करिब ९ः४० बजेतिर भएको उक्त घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। डीएसपी चुँडालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।